एजेन्सी । कुकुरलाई सबैभन्दा वफादार जनावर मानिन्छ । मालिकप्रतिको उनको वफादारीका धेरै कथाहरु बाहिर आएका छन् । यसैबीच टर्कीबाट घरपालुवा कुकुरको यस्तो तस्बिर बाहिर आएको छ, जसले मानिसलाई भावुक बनाएको छ । मालिकको मृत्युपछि घरपालुवा कुकुर उनको चिहानमा धेरै दिनसम्म बस्यो । खान र पिउन समेत छाेडिदियाे ।
‘डेली स्टार’ को रिपोर्टका अनुसार उत्तरी टर्कीको कायमाक्ली जिल्लामा बस्ने ओमेर गुवेनले करिब १२ वर्षअघि आफ्नी श्रीमती गुमाए । त्यसपछि उनले आवारा बिरालो र कुकुरको हेरचाह गर्न थाले । उनी यस क्षेत्रमा पशु प्रेमीका रुपमा परिचित थिए ।
ओमरले ११ वर्षअघि ‘फेरो’ नामक जर्मन शेफर्डको हेरचाह गर्न थालेका थिए । यति लामो समयसँगै रहेपछि दुवैबीच गहिरो ‘मित्रता’ भयो । तर यसैबीच २९ अक्टोबरमा ओमर बिरामी परे र उनलाई अस्पताल लगियो । जहाँ उनको ९२ वर्षको उमेरमा निधन भएको थियो ।
ओमरको शव कफिनमा राख्दा उनको विश्वासी कुकुर कफिन नजिकै उभिएर हेरिरहेको थियो । गाडिएपछि पनि कुकुर ओमरको चिहान नजिकै उभिरह्याे । रिपोर्टका अनुसार सबैजना आ–आफ्नो घर फर्किए पनि चिहान नजिकै ‘फेरो’ भने बसिरह्याे । कहिले माटोमा टाउको पुछ्थ्याे त कहिले मालिकको चिहानमा हेरिरहन्थ्याे ।
ओमरकी छोरी सेभिल्लय सुरुलले भनिन्, ‘मेरो बुबाले फारोलाई असाध्यै माया गर्नुहुन्थ्यो । फेरोलाई मेरो बुबा गुमाउनु पर्दा धेरै दु:ख लागेको थियो । उसले दुई दिनदेखि न खाएकाे छ न त निदाएकाे नै छ । मेरो बुबाको फारोसँग विशेष सम्बन्ध थियो ।’
कायमाकाली समुदायका नेता तेमेल यिलमाजले भने- ‘काका उमरले जनावरहरूको धेरै हेरचाह गर्नुहुन्थ्यो । उहाँको मृत्यु हुँदा फारो टुट्याे । हामीले फारोको आँखाबाट आँसु बगिरहेको देख्यौँ ।’






