काठमाडौं । नेकपा एमाले खनाल-नेपाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता र कार्यकर्ताले ठेगान लगाउने बताएका छन् । मङ्गलबार धनगढीमा आयोजित अखिल नेपाल महिला संघको प्रदेश स्तरीय महिला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी फुटाउने व्यक्ति प्रधानमन्त्री ओली नै रहेको बताएका हुन् ।
उनले पार्टी विधानलाई उल्लङ्घन गर्दै ओलीले आफ्नो गुटको भेला बोलाएर आफू अनुकुल निर्णय गरी पार्टीलाई दुई भागमा विभक्त बनाएको आरोप लगाए । ओलीले कारवाही गर्छ भनेर कोही पनि नडराउन अपिल गर्दै उनले ओलीको निरंकुशताविरुद्धको प्रवृत्तिलाई छिट्टै किनारा लगाएरै छाड्ने बताए ।
उनले एउटा कथा सुनाउँदै भने, ‘एउटा बच्चा रहेछ । बच्चा पाउन दुई आमाले न्यायाधीश कहाँ उजुरी हालेछ । न्यायाधीश कस्तो परेछ भने एकदमै धूर्त । न्यायाधीशले भनेछ दुवैले बच्चा पाउन बीच भागबाट चिर्नुपर्छ । नक्कली आमाले भनेछ हुन्छ श्रीमान् । त्यस्तै अहिलेको ओली प्रवृत्ति हो ।’
आफूहरुले त्याग र बलिदान गरी जन्माएको बच्चालाई ओलीको हातबाट चाँडै खोसेर ल्याउन विशेष अभियान शुरु गर्न लागेको बताउँदै उनले सबैलाई संघर्षको मैदानमा उत्रन आह्वान समेत गरेका छन् ।






