काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा सरकार बनाउन पहल सुरु गरेका छन् । आफ्नो निवास बूढानीलकण्ठमा सभापति देउवाले तीन पार्टीका शीर्ष नेताको बैठक बोलाएर कांग्रेस केन्द्रीय समितिले यसअघि गरेको निर्णयका बारेमा जानकारी गराएका थिए ।
बैठकमा सहभागी जसपा नेता राजेन्द्र महतोले महन्थ ठाकुरको भनाई उद्धृत गर्दै भने, “हामीले मधेस–थरुहट आन्दोलनका मुद्दाहरु छन् । सरकारसँग सकारात्मक कुरा भएको छ । मुद्दा फिर्ता लिने अन्तिम तयारी छ । सरकारसँगको वार्ता सकारात्मकरुपमा अघि बढेको छ । कांग्रेससँगको सहकार्यका बारेमा हामीले अहिले केही सोचेका छैनौँ ।”
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वार्ता सकारात्मक रुपमा अघि बढेको बताए । उनले जसपाले पार्टीभित्र छलफल गर्ने बताएको जानकारी दिँदै छिट्टै अर्को बैठक बस्ने बताए ।






