काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी ओलीको सत्ताशक्ति केही दिनमै सकिएर जाने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै प्रचण्डले नेपाली राजनीतिमा केपी ओली कालो बादलका रुपमा मडारिरहेको बताए ।
उनले आफूहरु नयाँ सरकार गठनका लागि तल्लीन भएकाले ओलीका रुपमा लागेको कालो बादल केही दिनमै हटेर जाने उल्लेख गरे । ‘संसद्मा रहेका प्रमुख तीन दलको बैठकले पनि अहिले सरकारबाट केपी ओलीको बहिर्गमन आवश्यक रहेको निष्कर्ष निकालेका छौं,’ उनले भने, ‘नेपाली राजनीतिमा ओली कालो बादलका रुपमा मडारिरहेका छन् । मलाई विश्वास छ, केही दिनमै त्यो कालो बादल आफैं हटेर जानेछ ।’
उनले अहिलेको सरकारले निजामती कर्मचारीको स्वतन्त्रता र आत्मसम्मान खासेको आरोप लगाए । कर्मचारीहरुको स्वतन्त्रता, आत्मसम्मान र बृत्तिविकास गर्नुको साटो सरकारले उल्टै उनीहरुको आत्मसम्मान कुल्चिने काम गरेको बताए । उनले सबै दलहरु नयाँ सरकार गठनका लागि सक्रिय रहेकाले अब ओलीको शक्ति धेरै दिन नचल्ने दावी गरे ।
नयाँ सरकार बनेपछि कर्मचारीहरुको हक हितका लागि प्रसस्त मार्ग खोल्ने बताए । केही गरी ओली सरकार अहिले रहिरहने स्थिति आए संसददेखि जिल्ला तहसम्म प्रतिवादमा जाने र कडा आन्दोलनमा जाने प्रचण्डको जिकिर छ । उनले अब नेपाली राजनीतिलाई सहज बाटोमा लैजानका लागि आन्दोलनको विकल्प नभएको पनि बताए ।






