सर्लाही । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सर्लाही सहित मधेश प्रदेशका नेपाल–भारत सीमा नाका तीन दिन अघिदेखि बन्द गरिने भएको छ ।
नेपाल–भारत दुवैतर्फका सुरक्षा अधिकारी तथा जिल्लाका पदाधिकारीहरु र सम्वद्ध अधिकारीहरु बीच मंगलबार भएको छलफलबाट मतदानको तीन दिनअघि अर्थात् ७२ घण्टा अघिदेखि नै सीमा नाका सिल गर्ने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।
उनका अनुसार छलफलमा नेपालका तर्फबाट सर्लाही, रौतहट र महोत्तरीका प्रमुख जिल्ला अधिकारीसहित चारैवटा सुरक्षा निकायका प्रमुखहरु र दुवै देशका सुरक्षतकर्मीहरुको उपस्थिति रहेको थियो ।
बैठकमा जिल्लाका भन्सार कार्यालयका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो । भारतको तर्फबाट भने सीतामढी जिल्लाका मुख्य जिल्ला अधिकारीको नेतृत्वमा त्यहाँका प्रहरी प्रमुख, भन्सार प्रमुख र एस।एस।बी। का अधिकारीहरुको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भारतीय अधिकारीहरुबाट पाएको सहयोगका लागि नेपाली पक्षले धन्यवाद व्यक्त गरेको थियो । साथै आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आवश्यक सहयोग तथा समन्वय गर्ने भारतीय पक्षले प्रतिवद्धता व्यक्त गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।
बैठकमा खुला सीमा नाकाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रण, लागुऔषध तथा मदिराको ओसारपसार नियन्त्रण, सूचना आदानप्रदान, अवैध मद्राको कारोबार नियन्त्रण तथा साना हातहतियारहरुको ओसारपसारमा रोक लागाउने र निर्वाचनको सुरक्षा संवेदनशीलताको विषयमा समेत छलफल भएका सर्लाहीको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।




