जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ३ स्थित सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत एक बालिका शिक्षकबाटै बलात्कारको सिकार भएकी छन् ।
स्कुलका शिक्षक जितेन्द्र यादवले ती छात्रा बालिकालाई शौचालयमा थुनेर बलात्कार गरेको खुलेको छ । घटना बुधबारको हो । घटना बाहिर आएपछि बलात्कार आरोपित शिक्षक यादव फरार भएका छन् ।
इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर रामकृष्ण देवकोटाले घटनाको ढाकछोपमा लागेको पीडित पक्ष तथा स्थानीयको आरोप छ । उनले यो घटना बारे सञ्चारमाध्यमसँग केही बोल्न मानेका छैनन् ।
यस बारे जानकारी लिन पटक पटक फोन गर्दा पनि उनी व्यस्त रहेको बताइरहेका छन् । सोही स्कुलमा अध्ययनरत विद्यार्थीका अनुसार बलात्कृत छात्रालाई प्रहरीले हिजै जनकपुर लगेर स्वास्थ्य परीक्षण गराएको खुलेको छ ।
स्कुलका प्रिन्सिपल हरि श्रेष्ठलाई आज सबैला प्रहरीले सोधपुछका लागि बोलाएको थियो । तर, उनलाई पनि छाडिसकेको छ । इन्स्पेक्टर देवकोटाले प्रिन्सिपल श्रेष्ठसँग मिलेर घटना ढाकछोप गरिरहेको स्थानीयको आरोप छ ।




