सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिकाका विभिन्न राजनीतिक दलहरु, स्थानीय जनप्रतिनिधिहरुका साथै स्थानीयबासी आन्दोलित भएका छन् । हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद साह र प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेले चरण भ्रष्टाचार गरेका भन्दै हरिपुर्वा नगरपालिकाका ९ वडा मध्य ४ वटा वडाका अध्यक्षहरु सहित विभिन्न राजनीतिक दल र स्थानीयबासी आन्दोलित भएका हुन् ।
आन्दोलनकारीहरुले भ्रष्टाचारी नगर प्रमुख साह र प्रमुख प्रशासकीय अधिकृत न्यौपाने मुर्दावाद, प्रमुख प्रशासकीय अधिकृत न्यौपाने नगरपालिका खालिगर लगायतका नारा लगाएका छन् ।
नगर प्रमुख साह र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको विरुद्धमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) लगायत दलहरुका साथै ४ वटा वडाका अध्यक्षहरु र स्थानीयबासीले नगरपालिका कार्यालय घेराउ गर्दै नगरपालिकाको कार्यालयमा ताला लगाएको नेकपा (माओवादी केन्द्र) का स्थानीय नेता जागेश्वर रायले बताए ।
हरिपूर्वा नगरपालिकाका नगर प्रमुख साह र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले चरण भ्रष्टाचार गरेको भन्दै नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष दिनेश यादव, ३ का वडा अध्यक्ष प्रमोद राय यादव, ६ का वडा अध्यक्ष रामस्वागराथ राय यादव र वडा नम्बर ७ का वडा अध्यक्ष उमेश यादव सहित विभिन्न स्थानीय राजनितीक दलका नेताहरु र स्थानीबासीहरुले आन्दोलन गरेका हुन् ।

आन्दोलनकारीहरुले कुचो तथा भाटासहित ¥याली निकालेर नगर प्रमुख साह र प्रमुख प्रशासकीय अधिकृत न्यौपाने विरुद्ध नारावाजी गर्दै नगरपालिकाको कार्यालय घेराउ र नगरपालिकाको कार्यलयमा तालाबन्दी गरेको नेपाली कांग्रेसका नेता महेश यादवले बताउनु भयो ।
नगरपालिकाले हरिपूर्वामा रहेको एक मठको जग्गामा नगरपालिका भवन बनाउन लागेको भन्दै संयुक्त सर्वदलिय संघर्ष समितिको नाम दिएर विगत ४ दिन पहिलादेखि विभिन्न चरणका आन्दोलनहरु हुँदै आएको भएपनि नगर प्रमुख साह र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले आफुहरुको माग सम्बोधन नगरेका कारण आफुहरु प्रदर्शन सहित आन्दोलन गर्न बाध्य भएको नेकपा (एमाले) का नेता जय प्रकाश यादव बताउनु भयो ।
उहाँका अनुसार साह नगर प्रमुख भएर आएदेखि नगरपालिकामा व्यापक भ्रष्टाचार भएको, विकासले गतिलिन नसकेको साथै नगर प्रमुख साह विकास विरोधी रहेका कारण आफुहरुले आन्दोलन गर्नु परेको बताए ।
हरिपूर्वा नगरपालिका अहिले हरिपूर्वा बजारस्थित नगर प्रमुख साहकै घरमा भाडा तिरेर संचालन भइरहेको छ । नगरपालिकाको भवन बनाउन गत वर्ष जग्गा प्राप्त भइसकेको भए पनि अहिलेसम्म कुनै सुरुसार भएको छैन् । राजनीतिक विवादले नगरमा विकासका कामै हुन नसक्दा हरिपूर्वावासी निराश बनेका स्थानीय युवा नेता विरेन्द्र प्रसाद यादवले बताउनु भयो ।
यता, राजनीतिक हानाथाप रहेका कारण नगरपालिकामा यो वर्ष अहिलेसम्म योजना सञ्चालन गर्न नसकेको नगर प्रमुख साहले बताउनु भयो । उहाँका अनुसार जनप्रतिनिधिहरुबाटै अराजक शैलीमा अनावश्यक प्रदर्शन भइरहेको बताउनु भयो ।
तत्कालका लागि मठको जग्गामा नगरपालिकाका विभिन्न शाखा राख्नका लागि टहरा बनाउन लागिए पनि अनावश्यक विवाद झिकिएको नगर प्रमुख साहको तर्क छ । हरिपूर्वा नगरपालिका अहिले हरिपूर्वा बजारस्थित नगर प्रमुख साहकै घरमा भाडा तिरेर संचालन भइरहेको छ ।
हरिपुर्वा नगरपालिकाका नगर प्रमुख र उप प्रमुख दुवै जना नेपाली कांग्रेसबाट निर्वाचित हुनु भएको छ भने ९ वटा वडाहरु मध्य ५ वटा वडा अध्यक्षहरु नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
आन्दोलनकारीहरुले नगर प्रमुख साहको कार्यकक्ष र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको कार्यकक्षमा ताला लगाएका छन् । उहाँ दुवै जना हाल काठमाडौंमा रहेकाले कार्यालयको सो शाखा बन्द नै रहेको थियो ।




