सर्लाही । महोत्तरीको बर्दिबास नगरपालिका १ स्थित रहेको देउराली उच्च माध्यामिक विद्यालयको हाता भित्रैबाट सार्वजनिक सडक निर्माण सुरु गरिएपछि स्थानीयले विरोध गरेका छन् ।
बर्दिबास नगरपालिका १ स्थित रहेको देउराली उच्च माध्यामिक विद्यालयको हाता भित्रैबाटै बर्दिवास नगरपालिका १ ले सार्वजनिक सडक निर्माण सुरु गरेपछि स्थानीयले विरोध गरेका हुन् ।
विद्यालयको हाता भित्रैबाट सडक निर्माण सुरु भएपछि विद्यालयको शैक्षिक वातावरणमा असर पर्ने भन्दै स्थानियबासीले चर्को विरोध गरेको स्थानीय युवा निरज अधिकारीले जानकारी दिए ।

उनका अनुसार बर्दिबास–च्यानडाँडा जोडने उक्त सडक निर्माणले विद्यालयको संवेदनशीलता माथी वेवास्ता गरिएको र शैक्षिक वातावरणमा प्रभाव पर्ने भएपछि स्थानीयले विरोध गरेका हुन् ।
च्यानडाडा पुग्न कै लागि अन्य दुई वटा बैकल्पिक सडकमार्ग हुँदा हुँदै बर्दिवास नगरपालिका १ ले नियतवस विद्यालयको हाता भित्रैबाट सडक निर्माण सुरु गरिएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
अहिले सडक निर्माण सुरु गरिएको दायाँ बायाँ विद्यालयको भवन रहेको छ । हालसालै निर्माण गरिएको भवनमा समेत पठन पाठन गर्ने तयारी समेत गरिएको भएपनि विद्यालयको हाता भित्रैबाट सडक निर्माण सुरु गरिएपछि विद्यालयमा पठन पाठन प्रभावित हुने भन्दै स्थानीयले विरोध गरेका हुन् ।
विद्यालय हाता भित्र निर्माण सुरु भएको सडक निर्माण पछि पैदल यात्रीहरुका साथै सवारी साधनहरुको आवतजावतका कारण विद्यालयको पठन पाठनमा निकै प्रभाव पर्ने बर्दिवास नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
पहिले–पहिले च्यानडाडा र वरपरका मानिसहरुले विद्यालयको भवन निर्माण नभएको समयमा गोरेटो वाटोको रुपमा प्रयोग गर्ने सो स्थान अहिले विद्यालयको संरचना निर्माण भई सकेपछि विद्यालयको हाता भित्र परेको विद्यालयले जनाएको छ ।
पहिलादेखि प्रयोग गर्दै आएको उक्त ठाउँमा आवतजावतको लागी सडकमार्ग बन्नुपर्ने स्थानीयले आवाज उठाएका तर विद्यालय हाता भित्र नै सडक निर्माण गर्ने भन्ने नभएको बर्दिवास नगरपालिका १ का वडा अध्यक्ष भोला खडकाले बताए ।

तर विद्यालय संरक्षणको लागि निर्माण गरिएको कम्पाउण्ड वाल नै तोडेर गेटभन्दा बाहिरको सडक जोड्ने तयारी गरिएको विद्यालय प्रशासनको भनाई छ । २०५५ सालदेखी नै बजारको सहज पहुँचको लागी च्यानडाडाका स्थानियहरुले सडक बनाउने माग गरेका पुर्व प्रधानध्यापक केदार कोइरालाले बताए ।
“विद्यालय जस्तो संवेदनशील क्षेत्रको हाताभित्रवाट जवर्जस्ती सडक निर्माण सुरु गरिएको छ त्यो अत्यन्त गलत हो । हामीले विद्यालय क्षेत्रभित्र सडक निर्माण गर्न कुनै पनि हालतमा नदिने अडान राखेको” पुर्व प्रधानाध्यापक कोईरालाले बताए ।
यता, समुदायले सवै दलसँग गरेको सम्झौता अनुसार नै काम अगाडि बढाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु दोङ्गले दावी गरे ।
“हामीले सबै विषयलाई मध्यनजर गरेर काम अगाडि बढाएका हौं ।” अध्यक्ष दोङले भने । ‘केही मान्छेहरुले विरोधका लागि मात्र विरोध गरेका हुन् ।’ उनको भनाई छ ।
“१५ फिटे सडक निर्माणको लागी च्यानडाडाका स्थानीय राजनीतिक दलहरु र स्थानीयबासीसँग बर्षौ पहिले सम्झौता गरेको पाइएको छ । मुख्य गोरेटोमा नै विद्यालयले कम्पाउन्ड बनाएपछी २०६८ सालमा स्थानिय र विद्यालय व्यवस्थापन पक्ष विच निक्कै रस्सा कस्सी चलेको थियो ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोङले बताए ।
तत्कालीन विद्यालय व्यवस्थापन समिती र प्रशासनले विद्यालयको छेउवाट सडक निर्माण गर्न दिने सहमति गरेको तर उक्त सहमतिको धज्जी उडाउदै विद्यालयको हाता भित्रेबाट सडक निर्माण सुरु भएको पुर्व वडा सदस्य समेत रहेका स्थानीय निरज अधिकारीले बताए ।
“आवत जावतको लागी बैकल्पिक सडक छ । हामीले विकासको विरोध गरेको होइन तर विद्यालयको हाता भित्रबाट सडक निर्माण हुँदा विद्यालयको शैक्षिक गतिविधिमा नकारात्मक प्रभाव पर्छ भनेका छौँ । विद्यालयको तल्लोपट्टीबाट सडक निर्माण गर्न सकिने तत्कालिन प्रधानध्यापक केदार कोइराला समेत हुँदा सम्झौता भएको” स्थानीय अधिकारीले बताए ।
विद्यालयको शैक्षिक वातावरणमा असर नपर्ने गरि विद्यालयको पुर्वपट्टीबाट पर्खालमा १५ फिटे मुखखुल्ला राख्ने सहमती भएको निर्णय पत्रमाउल्लेख छ । २०६९ जेठ १६ मा बसेको बैठकले यस्तो निर्णय गरेता पनि समुदायस्तरमा निक्कै आलोचना भएको थियो । त्यसपछी उक्त कार्यलाइ १० बर्ष देखि यथावत राखिएको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोङको नीजि स्वार्थ हावी हुदा विद्यालयको हाता भित्रैबाट सडक निर्माण सुरु भएको स्थानियको आरोप छ । यता, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष दोङले आफ्नो नीजि स्वार्थ भन्दा पनि पुर्व सहमति अनुसार काम गरेको दाबी गरेका छन् ।
त्यस्तै विद्यालयको हाताभित्रबाट सडक निर्माण सुरु हुँदा पनि स्थानीय सरकार बर्दिवास नगरपालिका बेखबर बनेको छ । उक्त सडक वडाले सिफारिस गरेको र बजेट रहेको तर सडक निर्माण कहाँ गर्ने भन्ने विषयमा आफूहरुलाई कुनै जानकारी नभएको बर्दिवास नगरपालिकाका प्रवक्ता विजय महतोले बताए । उनले उक्त विषयमा आफुहरु अनविज्ञ रहेको र सो विषय के रहेछ बुझ्ने बताए ।




