सर्लाही । सर्लाहीको लालबन्दीबाट प्रहरीले ठूलो परिमाणमा नक्कली नोट फेला पारेको छ । आज मंगलबार बिहान लालबन्दी नगरपालिका– ७, स्थित लालबन्दी जब्दी सडक छेउबाट एक हजार दरका ५ सय ३० थान (पाँच लाख तीस हजार) नक्कली नोट बरामद भएको हो ।
फालेको अवस्थामा स्थानीयले कालो ब्यागमा पैसा देखेपछि लालबन्दी प्रहरीलाई खबर गरेका थिए । घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले उक्त नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
उक्त नक्कली नोट कहाँबाट कसले ल्यायको हो रु बजार छेउमा किन फालेर भाग्यो भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय लालबन्दीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सान्तराम कार्कीले जानकारी दिए ।
सर्लाही जिल्लामा पछिल्लो समय पाँच सय र एक हजार दरका नक्कली नोट निरन्तर फेला परिरहेको छ । गत एक महिनाको अन्तरमा जिल्लाका विभिन्न स्थानबाट साढे आठ लाखको हाराहारीमा नक्कली नोट बरामद भएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
आपराधिक घटनामा संलग्नहरूले आपराधिक क्रियाकलाप प्रयोजनका लागि यस्ता पैसा ल्याएको हुन सक्ने सर्लाही प्रहरीको भनाइ छ । सर्लाही प्रहरीले पछिल्लो समय मिसनकै रूपमा नक्कली नोट कारोबार गर्ने गिरोहको पहिचान र खोजी सुरु गरेका कारण यसरी पैसा फालेर भाग्ने कार्य भएको प्रहरी उपरीक्षक सुबेदिले बताउनुभयो ।
जिल्लामा नक्कली नोट पटक–पटक बरामद भए पनि यस्तो नोट बाहिरबाट ल्याउने गरेको आशंका प्रहरीले गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सुवेदीले बताए ।




