सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका ८ भन्सार एरियाबाट शनिबार साँझ सशस्त्र प्रहरीले ८ लाख रुपैयाँ र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपाल ल्याउँदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको २०० थान नेपाली रुपैयाँ बरामद गरेको हो ।
नियन्त्रणमा लिएको नेपाली रुपैयाँ र मोटरसाइकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक तुल बाहादुर भण्डारीले बताउनु भयो ।
यसैगरी सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुअवाबाट २० किलो गाँजासहित एउटा भारतीय मोटरसाइकल आइतबार बिहान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बिआर ३० डी ५८८५ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ लैजाँदै गरेको ४ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल विओपी सखुअवाले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीलाई देख्ना साथै मोटरसाइकल सोही ठाउँमा छाडेर मोटरसाइकल चालक फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।




