काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकको खाताबाट रकम हराएको भन्दै आएका समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । बैंकले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै रौतहटस्थित चन्द्रपुर शाखाबाट ग्राहकको खाताबाट रकम हराएको भन्दै विज्ञप्ती निकालेको हो ।
विभिन्न सञ्चार माध्यमबाट आएका समाचारको खण्डन गर्दै बैंकले अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ प्रयोग गरी बैंकका विभिन्न खाताहरू तथा खल्ती वालेटमा ट्रान्सफर गरिएको देखिएको जनाएको छ ।
‘माछापुच्छ्रे बैंकको रौतहटस्थित चन्द्रपुर शाखाबाट ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट आएका पछिल्ला समाचार प्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । ग्राहकको गुनासो प्राप्त भएपछि बैंकले अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ प्रयोग गरी बैंकका विभिन्न खाताहरू तथा खल्ती वालेटमा ट्रान्सफर गरिएको देखिएको छ’, बैंकले प्रेस विज्ञप्तिमा भनेको छ ।
‘बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाएको सम्पूर्ण एसएमएस एक्टिभेसन कोड तथा ओटीपी ग्राहककै मोबाइलमा भएको देखिएको हुँदा उक्त कोड अनधिकृत व्यक्तिलाई जानकारी नगराइ वा ग्राहकको मोबाइलमा अनधिकृत पहुँच नपुर्याई उक्त कारोवार हुन नसक्ने देखिन्छ’ बैंकले भनेको छ । साथै यस सम्बन्धमा थप अनुसन्धानका गरी कारवाहीका लागि प्रहरीमा अनुरोध गरिसकेको बैंकले जनाएको छ ।




