रौतहट । केही दिनदेखि बढेको गर्मीका कारण मध्य तराईमा विभिन्न रोगको संक्रमणका बिरामी बढेका छन् । चन्द्रपुरस्थित चन्द्रनिगाहपुर सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ ।
भाइरल ज्वरो, वाकवाकी, ज्वरो, झाडापखाला, रुघाखोकी, न्यून रक्तचाप र सर्पदंश लगायतका बिरामीको चाप बढेको अस्पतालले जनाएको छ । अस्पतालमा बिरामीको चाप बढेपछि अहिले अस्पतालमा शय्या समेत अभाव हुन थालेको छ । अस्पताल १५ शय्याको हो ।
शय्याको अभाव भएपछि अधिकांश बिरामीलाई भर्ना नगरी ओपीडीबाटै जाँच गरेर उपचार गर्नुपर्ने बाध्य रहेको अस्पताल प्रशासन शाखाले जनाएको छ । गर्मी बढेसँगै जिल्लास्थित सबैजसो सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा समेत बिरामीको चाप बढेको चिकित्सक बताउँछन् ।
त्यस्तै, जिल्लाका निजी अस्पतालमा पनि भाइरल ज्वरो, वाकवाकी, ज्वरो, झाडापखाला, रुघाखोकी र रक्तचापका बिरामी उपचारका लागि भर्ना भएका छन् । शहरी क्षेत्रमा रहेको अधिकांश निजी अस्पतालमा बिरामीको चाप बढेको बताइएको छ ।




