बारा । पचरौता नगरपालिकामा मंगलबारदेखि स्वास्थ्यसहितको अत्यावश्यक सेवा ठप्प हुने भएको छ । असार १० गते नगरपालिकाको कार्यालयमा भएको तोडफोड र कर्मचारीमाथी दुर्व्यवहार गर्ने व्यक्तिलाई कारवाही गर्न प्रहरीले चासो नदेखाएको भन्दै नगरपालिकाले सेवा बन्द गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रले सोमबार विज्ञप्ति जारी गर्दै कार्यालयमा काम गर्ने वातावरण नभएका कारण सेवा बन्द गर्न लागिएको जनाएका छन् । मिश्रले नगरपालिकाको कार्यालयमा भएको घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्न समेत माग गरेका छन् ।
नगरपालिकाको कार्यालयमा गत असार १० गते केही व्यक्तिहरूले कर्मचारी माथी दुर्व्यवहार गरेको र कम्प्युटर तथा प्रिन्टर तोडफोड गरेको मिश्रद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएपनि सुनुवाई नभएको आरोप मिश्रको छ । कर्मचारीको मनोबल खस्किएको र आत्मसम्मानमा ठेस पुगेका कारण सेवा बन्द गरिन लागिएको मिश्रले जनाएका छन् ।
यता बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले नगरपालिकाको कार्यालयमा कर्मचारीमाथी दुर्व्यवहार र तोडफोड भएको घटनाको विषयमा आफूलाई कुनै जानकारी नआएको बताएका छन् ।
सरकारी सम्पति तोडफोड गर्न कसैलाई छुट नभएको भन्दै प्रहरी उपरीक्षक बोगटीले त्यस्ता घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्न प्रहरी पछि नहट्ने बताए । प्रहरी उपरीक्षक बोगटीले एक कार्यक्रममा सहभागी हुने क्रममा प्रहरी नगरपालिकाको कार्यालय पुगेको तर विज्ञप्तिमा उल्लेख भएजस्तो कर्मचारी माथी धाक धम्की नदिएको बताए ।




