काठमाडौं । देशका केही ठाउँमा अहिले भारी वर्षा भइरहेको छ । विशेष गरेर मधेस प्रदेशका केही ठाउँमा भारी वर्षा भएको हो । सबैभन्दा धेरै बारामा तीन घण्टामै ५० मिलिमिटर पानी परेको छ ।
निजगढ र अमलेखगञ्जसहितका केही ठाउँमा डुबान र बाढीको चेतावनी जारी भएको छ । यस्तै सिन्धुलीका केही ठाउँ र नवलपरासीमा पनि भारी वर्षा भएको छ । अहिले दैलेख र डोटीमा भारी वर्षा हुँदैछ । राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन एवम् चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।




