जनकपुरधाम । उपचार क्रममा महिलाको मृत्यु भएपछि जनकपुरको रामानन्दचोकस्थित सुरक्षा अस्पतालका डाक्टर भागेका छन् । जनकपुरधाम उपमहानगरपालिका १५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको उपचारका क्रमम मृत्यु भएको भन्दै मृतकका आफन्त आक्रोशित बनेका हुन् ।
बुधबार पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी साहको शुक्रबार दिउँसो मृत्यु भएको थियो । साहको मृत्युपछि आफन्तजनले सडकसमेत अवरुद्ध पारेका थिए । घटनापछि चिकित्सकहरू अस्पताल छाडेर भागेका हुन् । बिरामीलाई अन्यत्र सारेर अस्पतालमा ताला लगाइएको थियो ।
मृतकका भाइ उदयकुमार साहका अनुसार बुधबार साहको शल्यक्रिया गरिएको थियो । तर, शल्यक्रिया असफल भएको र साहको मृत्यु भएको थियो । साहको मृत्यु भएपछि चिकित्सक तथा अस्पतालका स्वास्थ्यकर्मीले एम्बुलेन्समा राखेर उनको शव अन्यत्र लैजाने कोशिस गरेका थिए ।
त्यस क्रममा आफन्तहरूले घेराउ गरेका थिए । त्यसपछि मृतकका आफन्तले साहको शव अस्पतालको गेटमा राखेर प्रदर्शन गरेका थिए । त्यस क्रममा थप तनाव हुन नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो ।




