रौतहट । रौतहटको चन्द्रपुर–१० स्थित वाग्मती नहरमा डुबेर शनिबार एक बालिकाको मृत्यु भएको छ । त्यस्ती अर्की एक बालिकालाई नहरबाट सकुशल उद्धार गरिएको छ ।
बडेर्वाका राजकुमार साहकी ८ वर्षीय छोरी शिवानीकुमारी साह र स्थानीय परमेश्वर साहकी ८ वर्षीया नातिनी शिवानी साह गाउँनजिक रहेको वाग्मती सिँचाइ आयोजनाको नहरको छेउमा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ डुबेका थिए ।
राजकुमारकी छोरी शिवानीलाई स्थानीय अशोक साहले नहरबाट सकुशल उद्धार गरी बाहिर निकालेको थियो । परमेश्वरकी नातिनी शिवानी भने बेपत्ता भइन् ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाको टोली खोजीमा खटेको थियो । राति अबेरसम्म पनि बेपत्ता शिवानी फेला परिनन् ।
प्रहरी निरीक्षक सापकोटाले हराइरहेकी शिवानीको खोजतलास गर्दै जाँदा बेपत्ता भएको स्थानभन्दा ६ किलोमिटर दक्षिण वृन्दावन नगरपालिका–६ स्थित नहरमा मृत अवस्थामा भेटिएको बताए ।




