सर्लाही । विभिन्न माग राख्दै सर्लाहीको हरिवनमा आज चक्काजाम गरिएको छ । पशुचौपायमा व्यापक मात्रामा फैलिरहेको ‘लम्पी स्किन’ रोग नियन्त्रणसहितका माग सहित आज चक्काजाम गरिएको हो ।
नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघ मधेश प्रदेशले किसानका मुद्दा उठान गरी पूर्वपश्चिम लोकमार्ग अन्तर्गत हरिवन बजार क्षेत्रमा मध्यान्ह करिब दुई घण्टा राजमार्ग अवरुद्ध पारेको हुन् ।

महासंघले लम्पी स्किन रोगलाई महामारी घोषणा गरी मरेका पशुको क्षतिपूर्तिको व्यवस्था गर्न र मरेका पशुको बीमा भुक्तानी तत्काल हुनुपर्ने माग राख्दै चक्काजाम गरिएको जनाएको छ ।
यस्तै, गत वर्ष पुस माघमै बिक्री गरेको उखुको सरकारले प्रदान गर्नुपर्ने अनुदान रकम (प्रतिक्विन्टल ७०) रुपियाँ तत्काल प्रदान गर्न माग गरिएको छ । चिनी उद्योगीबाट बेलैमा भुक्तानी नपाएर हैरान किसान सरकारले नै सात महिनासम्म अनुदान रकम नदिएको गुनासो गरिरहेका छन् ।

चक्काजामका क्रममा रासायनिक मलको सहज आपूर्ति गर्नुपर्ने, मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्नुपर्ने लगायतको माग अघि सारिएको छ । तराई क्षेत्रमा पानी नपर्दा किसानले रोपाइँ गर्न पाएका छैनन् भने जसोतसो रोपेको धान पनि सुकेका छन् ।




