रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भुकुमार सिंह प्रहरीको फरार सूचीमा रहेको खुलेको छ । व्यक्ति हत्या अभियोग लागेका उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले फरार सूचीमा राखेको हो ।
जिप्रका रौतहटले उनीसहित छोटन सिंह भनिने रामप्रवेशकुमार सिंहलाई कार्यालयमा उपस्थित गराउन गत २१ पुसमा इलाका प्रहरी कार्यालय गंगापिप्रालाई लिखित निर्देशन दिएको थियो ।
क्रम संख्या ३२०५ नम्बरको पत्रमा गाउँपालिका अध्यक्ष शम्भुकुमार र रामप्रवेश फरार रहेकाले उनीहरूलाई कार्यालय उपस्थित गराउन र नसकिए प्रतिवादीको यकिन परिचय खुल्ने कागजात र तीनपुस्ते विवरण यथाशीघ्र कार्यालयमा उपलब्ध गराउन भनिएको छ ।
पत्रको अन्त्यमा दुई प्रतिवादीको स्थायी ठेगाना र बुबाको नामसमेत खुलाइएको छ । जिप्रका रौतहटका अनुसार १८ फागुन ०६३ मा तत्कालीन गंगाप्रिपा गाविसका सचिव रामवृक्ष राउतको गोली हानी हत्या भएको थियो । सोही हत्यामा शम्भु र रामप्रवेशकुमार मुछिएका थिए ।
निरन्तरको दबाब र धम्कीपछि मृतकका परिवारले घटनामा संलग्न अभियुक्तविरुद्ध जाहेरीसमेत दिएको थिएन । सरकारीवादी मुद्दा भएकाले अभियुक्तविरुद्ध जिप्रका रौतहटमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक वेणी सिलवालले २१ फागुन ०६३ मा अभियुक्तविरुद्ध जाहेरी दिएका थिए ।
घटनाको अनुसन्धानकै क्रममा शम्भु र रामप्रवेशकुमार पक्राउ परे । तर, जिल्ला सरकारी वकिल कार्यालय रौतहटले ४ असोज ०६४ मा प्रमाण नपुगेको भन्दै अभियुक्तविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।
घटनाको १५ वर्षपछि जिप्रका रौतहटले फरार रहेको भन्दै प्रतिवादीलाई कार्यालयमा उपस्थित गराउन पत्र काटेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटले इप्रका गंगापिप्रालाई पठाएको पत्र अनुसार गाउँपालिका अध्यक्ष शम्भु र रामप्रवेशकुमार फरार सूचीमा छन् ।
तर, उनीहरूसँग जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख वीरबहादुर बुढामागर, सशस्त्र प्रहरीका एसपी माधव रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका एसपी चन्दनकुमार झा, नेपाली सेनाका प्रमुख सेनानी गंगाबहादुर विष्टले सँगै फोटो खिचेको देखिन्छ ।
फोटोमा शम्भु बीचमा उभिएका छन् । रामप्रवेशकुमारले बायाँतर्फको छेउमा ओमकार लेखिएको टिसर्ट लगाएको देखिन्छ । शम्भुको बायाँतर्फ उभिएका जिप्रका रौतहटका सिडिओ मिश्र हुन् भने उनीसँगै उभिएका सशस्त्रका एसपी रेग्मी हुन् ।
शम्भुको दायाँतर्फ उभिएका सेनाका प्रमुख सेनानी विष्ट हुन् । उनीसँगै उभिएका राअविका एसपी झा र अर्का जिप्रका रौतहटका एसपी बुढामगर हुन् ।




