धनुषा । शहिदनगर नगरपालिका धनुषामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरी अख्तियारको फन्दामा परेका छन् । वाल निर्माण कार्य सम्पन्न पश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
इन्जिनियर रमेश कुमार चौधरी र निजको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट रु. एक लाख रुपैयाँ एवम् घुस बापतको रकम लिइरहेको अवस्थामा उक्त रकम र रु. एक लाख पचहत्तर हजार रुपैयाँको चेकसहित जिल्ला धनुषा, शहिदनगर नगरपालिका वडा नं. ३ स्थित पशु सेवा केन्द्रको भवनबाट हिजो साउन २८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिएका हुन् ।




