वीरगंज । छिपहरमाई गाउँपालिका–२ बडका टिउकी निवासी एकल महिला तारादेवीले सोमबार पत्रकार सम्मेलन गरी आफूलाई ऋण लिएकै कारण कुटपिट गरिएको र प्रहरीले उल्टै साहुलाई सघाएको आरोप लगाएकी छन् ।
नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा एकल महिला तारादेवीले आइतबार साहु भोला साह कानू लगायतले कुटपिट गरेको र प्रहरीले निजहरूलाई कारबाइ गर्नुको साटो उल्टो आफूलाई १० घण्टा थुनामा राखेको बताइन् ।
छोरा र आफूलाई साहु भोला साह कानूको संलग्नतामा कुटपिट गरिएको र प्रहरीले निजहरूलाई संरक्षण दिंदै पीडित आफू र छोरालाई नै १० घण्टा थुनामा राखेको बताइन् ।
तारादेवीले छिपहरमाई गापाका अध्यक्ष मनोज गुप्ताको अगुवाइमा १० घण्टापछि प्रहरीले आइतबार राति छाडेको बताइन् । उनले रामेश्वर भन्ने भोला साह कानूसँग छ लाख ऋण लिएकोमा सोको साटो उनले छ कट्ठा जमीन लेखाउन खोजेको र आफूले नमान्दा बेला बखत कुटपिट गर्ने, बेइज्जत गर्ने गरेको आरोप लगाइन् ।
उनले साहु कानूविरुद्ध प्रहरी प्रशासनमा उजूरी गरेको तर कुनै सुनवाइ नभएको, आइतबार पुनः आफू र छोरामाथि हमला भएको र यसमा पनि स्थानीय प्रहरीले साथ नदिएको गुनासो गरिन् ।
तारादेवीले ऋण अनुरूपको छ लाख बराबरको जग्गा दिन आफू तयार रहेको तर साहुले रु २१ लाखको कागज गराएर छ कट्ठा जमीन आफ्नो नाममा गराउन जुक्ति रचेको भन्दै न्यायको लागि प्रहरी प्रशासनसमक्ष गएको तर न्याय नपाएको बताइन् ।
उनले प्रदीप साह कानू, भगत साह कानू र सेठ साह कानूले साहु भोला साह कानूको पक्षबाट आफू र छोरालाई शरीरमा नीलडाम हुने गरी निर्घात कुटेको र यसको साक्षी प्रहरी भएपनि निजहरूलाई पक्राउ नगरेर आफूहरूलाई १० घण्टा थुनेको बताइन् ।




