वीरगंज । पकहामैनपुर गाउँपालिका कार्यालयको जिन्सी शाखाबाट कर्मचारीहरूले रातिको समयमा सामानहरू चोरी गरिरहेका घटना बारे गापा कार्यालयले छानबीन समिति गठन गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले प्रेस विज्ञप्ति जारी गर्दै गापा उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक सर्फुन नेशाको संयोकत्वमा सात सदस्यीय छानबीन समिति गठन गरेको जानकारी गराएका छन् । उनले घटनाका आरोपीहरूलाई भने अहिले निलम्बन गरेका छन् ।
समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्ने बताइएको छ । जिन्सी शाखा प्रमुख हरिमोहन महतोले कार्यालय सहयोगी मुना राउत कुर्मी र वडाका सहायक कम्प्युटर अपरेटर धनञ्जयले पालिकाबाट रातिको समयमा जिन्सी शाखा खोली सामान झिकिरहेको भिडिओ फुटेज सार्वजनिक भएको थियो ।
रातिको समयमा कार्यालयबाट ब्याग, रेनकोट लगायतका अन्य सामग्रीहरू चोरी गरेर लगिरहेको स्थानीयले भिडिओ सार्वजनिक गरेका थिए । स्थानीयले कार्यालयबाट चोरिएका सामान यथास्थानमा राख्न लगाएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले कार्यालय बन्द भएको समयमा कसैको निर्देशन विना स्टोर खोलेर सामान निकाल्नु गलत कार्य भएको बताए । उनले घटनाका दोषीहरूलाई कसूर अनुसारको सजाय हुने बताएका छन् ।





