धनुषा । धनुषामा ह्वाङ्गै छाडिएको मंगालमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ । धनुषाको जनपुरधाम उपमहानगरपालिका २५ केउटानी टोलमा ह्वाङ्गै छोडिएको मंगालमा डुबेर २ वर्षीय रोहन मुखियाको मृत्यु भएको हो ।
घर वरपर खेलिरहेका रोहन कतै नदेखिएपछि परिवारले खोजी गर्दा मंगालमा डुबेको अवस्थामा भेटिएका थिए । उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले बालकको मृत्यु भएको घोषणा गरेको थियो ।
केउटानी टोलमा दुई वर्षअघि नै सडक ढलान गरिएको थियो । सडक ढलान गरिएपनि मंगाल दुई वर्षदेखि नै ह्वाङ्गै छ । २ वर्षीय बालकको मृत्यु भएपछि केउटानी टोल शोकमग्न छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




