रौतहट । रौतहटमा हावा भर्ने ट्याङ्की विस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको गरूडा नगरपालिका–४ स्थित समनपुर रोडमा आज सोमबार गाडीमा हावा भर्ने ट्याङ्की विस्फोट हुँदा उनीहरू घाइते भएका हुन् ।
धर्मेन्द्र मोटरसाइकल वर्कसपमा मोटरसाइकल मर्मत गरिरहेका स्थानीय धर्मेन्द्र साह र विधिकुमार साह घाइते भएका इलाका प्रहरी कार्यालय गरूडाले जनाएको छ ।
अचानक सवारीमा हावा भर्ने ट्याङ्की विस्फोट भएपछि फलाम उडेर दुवै जना घाइते भएका हुन् । धर्मेन्द्रको दाहिने हातमा अधिक चोट लागेको प्रहरीले जनाएको छ ।
स्थानीय अस्पतालमा उपचार गराउँदा घाइते दुवैको अवस्था गम्भीर देखिएपछि थप उपचारको लागि वीरगञ्ज पठाइएको छ । दुवैको हात र शरीरमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।




