सर्लाही । सर्लाहीमा विश्वकर्माको मुर्ति सेलाउने विषयमा विवाद उत्पन्न भएको छ । जिल्लाको ब्रम्हपुरी गाउँपालिकामा केही व्यक्तिले गाउँपालिका कार्यालयमा तोडफोड गर्नुको साथै सशस्त्र प्रहरीको गाडीमा ढुंगामुढा गरेका छन् ।
ढुंगामुढा प्रहारबाट गाउँपालिका कार्यालय र प्रहरीको गाडीको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मंगलबार दिउँसो विश्वकर्माको मुर्ति सेलाउन जाने रुटको विषयमा विवाद हुँदा केही अराजक समूहले अवस्था विगार्ने प्रयास गरेका प्रहरीले जनाएको छ ।
घटनामा संलग्न कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको छ । दुई साताअघि सर्लाही सदरमुकाम मलंगवामा कृष्ण जन्माष्टमीको मुर्ति सेलाउने क्रममा केही उच्छृंखल समूहले हिन्दु मुस्लिम बीचको साम्प्रदायिक सद्भाव विथोल्ने प्रयास गरेका थिए ।
मलंगवामा मंगलबार विश्वकर्माको मुर्ति विसर्जन गर्ने क्रममा हुन सक्ने सम्भावित झडपलाई ध्यान दिँदै स्थानीय प्रशासनले कडा सुरक्षा अपनाएको थियो । सर्लाहीमा हिन्दु सम्राट नेपालको नाममा विगत केही समययता नियोजित रुपमा साम्प्रदायिक सद्भाव विथोल्ने प्रयास हुँदै आएको छ ।




