सर्लाही । सर्लाहीमा हतियारधारी समूहले लुटपाट गरेको छ । जिल्लाको लालबन्दी नगरपालिका ५ नयाँटोलमा वडा कार्यालय नजिक रहेको रामचरित्र ठाकुरको घरमा बिहिबार बिहान हतियारधारी समूहले लुटपाट गरेको हो ।
मुखमा रुमाल बाँधेर आएका ५/६ जनाको समूहले ठाकुरको घरबाट नगदका साथै अन्य सामानहरु लुटेर लगेको प्रहरीले जनाएको छ । लुटेरा समूहसँग प्रतिकार गर्दा घरधनी ४५ वर्षीय ठाकुर घाइते भएका हुन् ।
उनको टाउकोमा चक्कु प्रहार भएको छ । घाइते ठाकुरको मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको छ । ठाकुर केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए ।
घटनास्थलबाट पड्किसकेको अवस्थामा एक थान कटुवा पेस्तोलसमेत बरामद भएको छ । लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी तीव्र पारिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।




