रौतहट । रौतहटको गौर भन्सारमा वर्षौदेखि नियन्त्रणमा रहेका बेवारिसे सवारी साधन जीर्ण बन्दै गएका छन् । जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारी साधन समयमा नै लिलाम नहुँदा हजारौ मोटरसाइकल, दर्जनौं चार पाङ्ग्रे गाडीहरु गौर भन्सार परिसरमा कुहिने अवस्थामा पुगेका हुन् ।
ती सवारी साधनका कुनै पनि कागजात नभएको र वर्षौदेखि सवारी धनी समेत सम्पर्कमा आएका छैनन् । लामो समय कार्यालयको खुल्ला स्थानमा राखिँदा उक्त सवारीसाधन काम नलाग्ने अवस्थामा पुगिसकेका छन् ।
मोटरसाइकलका अधिकांश भाग घामपानीले काम नलाग्ने अवस्थामा पुगिसकेको छ । कार्यालयले लिलाम बिक्री गरी सरकारी खातामा राजस्व दाखिला गर्न पाउने कानुनी व्यवस्था भएपनि झन्झटिलो प्रक्रियाका कारण समस्या भएको बताइएको छ ।
समयमै लिलाम नहुँदा अधिकांश सवारी साधनका टायर समेत क्षति भएको छ । गौर भन्सार कार्यालयबाट २०७४ साल देखि बरामद सवारी साधनहरु लिलाम भएका छैनन ।
अलपत्र अवस्थामा ३ हजार १ सय मोटरसाइकल र ९६ वटा जिप कार रहेको भन्सार कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न स्थानबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले बरामद गरेको सवारी साधन अलपत्र जस्तै बनेको हो ।
सुरक्षित स्थानमा राख्ने गोदाम नहुँदा घामपानीले सवारी साधन कवाडी हुँदै गएको हो । ६ वर्ष देखि लिलाम हुन नसकेको सवारी साधनको लिलामी प्रकृया अघि नबढ्दा अवस्था नाजुक बनेको हो ।




