सिरहा । सिरहामा नापी कार्यालयको कर्मचारीहरुले सेवाग्राहीसँग खुलेआम घुस रकम लिएर काम गर्ने गरेको पाइएको छ । लहानस्थित नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग किताकाट, ब्लु प्रिन्ट लगायतका काममा विचौलिया तथा कर्मचारीहरु आफैँले खुलेआम अतिरिक्त रकम लिने गरेको पाइएको हो ।
नापी कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीहरुको सेटिङमा सेवाग्राहीसँग घुस लिएर मात्र कागजी प्रक्रिया अगाडि बढाउने गरेको पीडित सेवाग्राहीहरु बताउँछन् । लामो समयपछि किताकाट खुलेकाले सेवाग्राहीको चाप बढेकाले नापी र मालपोतबाट हुने सबैखालका काम विना घुस नहुने नाम उल्लेख नगर्ने सर्तमा एक सेवाग्राहीले बताए ।
लामो समयपछि किताकाट खुलेकाले नापी र मालपोतमा सेवाग्राहीको भिडभाड लाग्ने गरेकाले त्यसको फाईदा उठाउँदै अमिनहरुले अतिरिक्त रकम माग्ने गरेका छन् । उनीहरुले सेवाग्राहीलाई भिडको बहाना देखाउँदै आज काम नहुने भन्दै फर्काउने र अतिरिक्त रकम नदिनेको काम ढिलो गर्ने गरेको सेवाग्राहीहरुको गुनासो छ ।
सिरहाका अधिकांश भीडभाड हुने अडाहरु मालपोत कार्यालय, नापी कार्यालय, भूमि सुधार, जिल्ला प्रशासन कार्यालयमा दिनहुँ सेवाग्राहीहरु ठगिने गरेको गुनासो आउने गरेको छ ।




