सर्लाही । नेकपा (एमाले) सर्लाहीले कोरोना भाईरस संक्रमण बारे सचेतना जगाउँदै निःशुल्क मास्क वितरण गरेको छ । ‘कोभिड-१९ बाट बच्ने धेरै उपायहरु छन्, सावधानी अपनाउन कुनै अवस्थामा पनि नचुकौ’ भन्ने नारासहित नेकपा (एमाले) सर्लाहीका जिल्ला अध्यक्ष रेवती पन्तको अगुवाईमा एमाले नेताहरु सडकमा निस्किएका हुन् ।
नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपाल, अनेमसंघ र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा जिल्लाको लालबन्दी बजारबाट कोभिड-१९ विरुद्ध सचेतनामूलक अभियान सुरु गरिएको नेकपा (एमाले) सर्लाहीका अध्यक्ष पन्तले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत एमाले नेताहरुले लालबन्दी बजारमा मास्क नलगाई हिँड्नेहरुलाई निःशुल्क मास्क वितरण र सेनिटाइजरको प्रयोगसहित चेतना अभिवृद्धि गराउने काम गरेका एमाले नेता चुडामणी वाग्लेले बताउनुभयो ।
कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष पन्त, पार्टीकै जिल्ला सचिव एवम् प्रदेश सभा सदस्य बेची लुंगेली, लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्का, एमाले नेता चुडामणी वाग्ले लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
लालबन्दी बजारबाट सुरु गरिएको सचेतनामूलक अभियान जिल्लाका मुख्य मुख्य बजार क्षेत्रमा गरिने एमाले जिल्ला सचिव तथा प्रदेश सभा सदस्य लुंगेलीले बताउनुभयो ।






