रौतहट । मधेश प्रदेशको नाम चलेको क्षेत्र हो, चन्द्रपुर । अहिले विकासको फड्को मार्दै गरेको क्षेत्रका रुपमा लिइन्छ, रौतहटको चन्द्रपुर नगरपालिकालाई । तर, फोहोर व्यवस्थापनमा भने चुकेको पाइन्छ । जताततै फोहोरै फोहोर देखिन्छ, यहाँ ।
चन्द्रपुर नगरपालिकाले फोहोर व्यवस्थापनमा दीर्घकालीन योजना ल्याउन नसक्दा फोहोर व्यवस्थापनमा चुकेको देखिन्छ । नगरपालिकासँग फोहोर व्यवस्थापनको योजना नहुँदा नगर दुर्गन्धित भएको देखिन्छ ।
नगरपालिकाले फोहोर नउठाएपछि व्यवसायी र सर्वसाधरण आफैँले राजमार्ग तथा बजारका विभिन्न ठाउँमा फोहोर फाल्ने गरेका छन् । जसका कारण नगर पूरै दुर्गन्धित हुने गरेको छ ।
अहिले फोहोर नउठ्दा राजमार्ग र बजारमा फोहोर थुप्रिएको छ । जसका कारण सर्वसाधरणलाई बाटो हिँड्न समेत सकस परेको छ । नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा बाटोमा हिड्दा समेत दुर्गन्धले आर्जित बनेका छन् स्थानिय ।
सडक छेउछाउमा फोहोरको थुप्रो लागेको र त्यसबाट फैलिएको दुर्गन्धले हिँड्न समेत समस्या भइरहेको स्थानियले बताइन् । उनले भनिन्, ‘सडक छेउछाउमा फोहोर फाल्दै जान्छन्, नगरपालिकाले निगरानी गर्दैन, हामीलाई निकै सास्ती भएको छ ।’ उनले त्यसरी थुपारिएको फोहोर सडकभरी हुने गरेको बताइन् ।
नगरपालिकाको लापरवाहीले पूर्वपश्चिम राजमार्ग पूरै दुर्गन्धित भएको छ । जताततै फोहोर नै फोहोर देखिन्छ । नगरपालिकाले सडक छेउछाउमा जताततै फालिएको फोहोरलाई तत्काल व्यवस्थापन गरी दीर्घकालीन समाधानतर्फ लाग्नु पर्ने देखिन्छ ।
त्यस्तै, कमजोर फोहोर व्यवस्थापनका कारण चन्द्रपुर नगरपालिका क्षेत्र दिन प्रतिदिन कुरूप र दुर्गन्धित बन्दै गएको छ । नगरपालिकाले बजार क्षेत्रको फोहोरसमेत समयमै उठान सकिरहेको छैन ।
नगरले जारी गरेको फोहोरमैला व्यवस्थापन निर्देशिका समेत पूर्णरूपमा कार्यान्वयन भएको छैन । बढ्दो जनसंख्याको चापले फोहोर मैला व्यवस्थापन चुनौति बन्दै गएको देखिन्छ ।




