धनुषा । झारफुक गरी भूत भगाइदिने भन्दै महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । धनुषाको सबैला नगरपालिका ११ का ३५ वर्षीय विष्णुदेव ठाकुर पक्राउ परेका हुन् ।
पीडितले दिएको उजुरीको आधारमा उनलाई कार्तिक १० गते पक्राउ गरिएको हो । भूतले छोप्न आउने गरेको भन्दै पीडित महिलाले धामी गुहारेकी थिइन् ।
धामीले दसैँको महाअष्टमीको दिन झारफुक गरेपछि भूत भाग्ने आश्वासन दिएका थिए । सोही दिन धामीले राति सबैलाकै एक मसानघाटमा लगेर महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पीडित महिला विवाहित हुन् । उनका श्रीमान इन्जिनियर छन् । तर, अन्धविश्वासमा परेपछि उनी बलात्कारको शिकार भइन् । झारफुक गराउन इन्जिनियर आफैं श्रीमतीलाई लिएर धामी कहाँ पुगेका थिए ।
धामीले भने गोप्य ठाउँमा झारफुक गर्नुपर्छ भनेर महिलालाई एक्लै मसानघाट लगेका थिए । मसानघाटमा धामीले बलात्कार गरेपछि महिला बेहोस भइन् । त्यसपछि धामी भागेका थिए ।
समय धेरै लागेपछि खोज्न गएका श्रीमानले श्रीमतीलाई बेहोस अवस्थामा फेला पारेर अस्पताल लगेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




