काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले लोकतन्त्र र संविधानको रक्षा र मधेसको मुद्दा समाधान गर्नका लागि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनु पर्ने बताएका छन् ।
कोइराला निवासमा शनिबार पत्रकारसँगको कुराकानीमा उनले संसद्मा विश्वास गुमाइसकेका व्यक्ति पुन: प्रधानमन्त्री भएर सरकार चलाउनु मुलुकका लागि दुर्भाग्य भएको बताए ।
प्रधानमन्त्री ओलीसँग माधवकुमार नेपालहरु गइसकेको अवस्थामा जसपालाई प्रतिपक्षीले रोक्न सक्नु पर्ने कोइरालाले बताए । प्रमुख प्रतिपक्षी कांग्रेसले अहिले सरकार बनाएर मुलुकमा कायम गतिरोध अन्त्य गर्ने दायित्व निर्वाह गर्नुपर्ने उनले बताए ।
अध्यक्ष ठाकुरले मधेसको मुद्दा सम्बोधनका लागि प्रधानमन्त्री बन्न छलफलमा आउने अवसर गुमाउन नहुने कोइरालाको भनाइ थियो । अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री बनाउन नसकिए मुलुकमा झन् ठूलो अराजकता निम्तिने उनले बताए ।
कांग्रेसले जसपालाई सरकारको नेतृत्व गर्न दिएर लोकतन्त्र र संविधान जोगाउनुको विकल्प नरहेको कोइरालाले बताए । कोइरालाले पार्टी सभापति देउवाले पार्टीको महाधिवेशन गराउन नचाहे विशेष अधिवेशनको माग गरेर पार्टीलाई जोगाउने बताए ।






