काठमाडौं । विश्वभरका मुलुकहरु मध्ये सबैभन्दा न्युन भ्रष्टाचार हुने देशमा डेनमार्क देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक गरेको सन् २०२३ को ‘करप्सन प्रसेप्सन इण्डेक्स’ अनुसार सबैभन्दा कम डेनमार्क र धेरै भ्रष्टाचार सोमालियामा हुने गरेको पाइएको हो ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अनुसार १८० देश सहभागी भएको उक्त र्याङकीङमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक कायम भएको छ । तर, सोमालियाले भने ११ अङ्क मात्र प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक कायम भएको हो ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले गरेको र्याङकीङमा १०० अङ्कले पाउने देशको भ्रष्टाचारको अवस्था सुन्य र ० अङ्कले अति भ्रष्ट मुलुक जनाउँदछ । ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार न्यूनीकरणका लागि हरेक देशले न्याय प्रणालीलाई स्वतन्त्र राख्न सके भ्रष्ट आचरणमाथि कारबाही बढ्ने र शक्ति सन्तुलन हुने सुझाएको छ ।
करेप्सन प्रसेप्सन इण्डेक्स (सीपीआई) २०२३ प्रतिवेदनमा विगत १ दशकमा सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा प्रगति हुन नसकेको उल्लेख छ । सरकारहरु भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा असफल रहेका तथा कमजोर न्याय प्रणालीले भ्रष्टाचारलाई मलजल पु¥याएको ट्रान्सपरेन्सी इन्टरनेशलको ठहर छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अनुसार नेपालमा भ्रष्टाचार घट्दै गएको छ । सन् २०२२ भ्रष्टाचारको सुचीमा ११० स्थानमा रहेको नेपाल सन् २०२३ मा १०८ औ स्थामा पुगेको छ । प्रतिवेदन अनुसार सीपीआई २०२३ मा नेपालले १०० मा ३५ अङ्क पाएको छ । सीपीआई २०२२ मा नेपालको अंक ३४ ९११० औं स्थान० रहेको थियो ।
सूचकाङ्कमा यस वर्षको औसत अंक ४३ रहेको छ । एशिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । विश्वका दुई तिहाई मुलुकले ५० भन्दा कम अंक पाएका छन् । यसले ती देशमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको देखिन्छ ।
गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केहि सुधार भएपनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीबाट बाहिर आउन भने सकेको छैन् । सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले २६, भारत ९३, माल्दिभ्स ९३, नेपाल १०८, श्रीलङ्का ११५, पाकिस्तान १३३, बङ्गलादेश १४९ र अफगानिस्तान १६२ औं स्थानमा रहेका छन् ।
छिमेकी मुलुक चीन पनि भ्रष्टाचारको सुचीमा ७६ औं स्थानमा छ । सीपीआई २०२३ मा नेपालको स्कोर बर्टेल्सम्यान फाउन्डेशन, ग्लोबल इनसाइट, भी–डीईएम, विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम र वल्र्ड जस्टिस प्रोजेक्ट र सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई आधार मानी तयार गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।






