काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शक्तिशाली मुलुकका राष्ट्राध्यक्षहरूसँग यसै साता टेलिफोन र पत्राचारमार्फत कोरोनाविरुद्धको खोप सहयोगको कुटनीतिक संवाद गरेकी छन् । जसको प्रभावका आधारमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिनको घोषणा अनुसारको १० लाख डोज खोप सोमबार काठमाडौं आउँदैछ ।
चुनावको तयारीमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको अनुरोधका आधारमा नै राष्ट्रपति भण्डारी सक्रिय भएकी हुन् । सरकार प्रति उनको केही झुकाव रहेको चर्चा सतहमा चलेकै छन् । राष्ट्रपति भण्डारीले आइतबार रसियाका राष्ट्रपति भ्लादिमर पुटिन, त्यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग नेपाललाई खोप उपलब्ध गराइदिनका लागि कुटनीतिक पत्राचार र संवाद गरेकी थिइन् ।
सरकारले चुनावअघि नै प्रत्येक मतदातालाई खोप लगाउने तयारी अनुसार कतिपय खरिद र कतिपय अनुदानमा लिने आन्तरिक रणनीति तयार गरेको छ । प्रधानमन्त्री तहमा प्रधानमन्त्री ओलीले र राष्ट्राध्यक्षको तहमा राष्ट्रपति भण्डारीले उक्त कुटनीतिक संवादलाई तिव्रता दिएका छन् ।
उच्च स्रोतका अनुसार सरकारले युरोपका कतिपय मुलुकसँग पनि खरिदका लागि प्रक्रिया अगाडि बढाएको छ भने कतिपय मुलुकसँग सहयोग पनि माग गरेको छ । यसै सन्दर्भमा बेलायतले नेपाललाई २० लाख डोज खोप दिने घोषणा गरेको थियो ।
आन्तरिक राजनीतिमा विपक्षी दलहरुले जति बिरोध गरे पनि सरकारले उपल्लो तहदेखि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको तहसम्म समकक्षीसँग वार्ता गरी खोपलाई छिटो भन्दा छिटो नेपालमा भित्राउने पहल जारी राखेका छन् ।
चुनावअघि कोरोना बिरामीलाई उपचारदेखि स्वास्थ्यमा कुनै कमजोरी नहोस् भन्नका लागि युनिफाइड अस्पताल अवधारणामा सरकार सक्रिय रहेको छ । जसको नेतृत्व स्वास्थ्य मन्त्रालयका सह–सचिव डा. जागेश्वर गौतमले गरेका छन् ।
व्यवस्थापकीय काममा सक्रियता दिलाउनका लागि माओवादी सेना समायोजनमा प्रभावकारी भूमिका निर्वाह गरेका नेपाली सेनाका पूर्वसहायक रथी बालानन्द शर्मालाई अधिक अधिकार दिएर जिम्मेवारी दिइएको छ ।
‘उहाँले विदा भन्न पाउनु हुने छैन । सोही रणनीति अनुसार नै उहाँलाई कोभिड संकट व्यवस्थापन केन्द्रको प्रमुख कार्यकारी अधिकारीका रुपमा नियुक्त गरिएको हो’, उपप्रधानमन्त्री ईश्वर पोखरेल भन्छन्,‘कुनै पनि प्रकारको विवाद नहोस् र फटाफट काम होस् भन्ने नै सरकारको अभ्यास हो ।’






