काठमाडाैं । नेकपा (एमाले) का नेता बामदेव गाैतमले शुक्रबार उपप्रधानमन्त्री नियुक्त भएका जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन सञ्चालन गरिरहेको भनी दिएको अभिव्यक्तिको विरोध जनाएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आफू आश्चार्यचकित भएको बताएका छन् ।
‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्मविपरीत कार्य गर्ने छैन भनी शपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दु:खी भएको छु,’ नेता गाैतमले लेखेका छन्, ‘नेपालको संविधानको धारा (३) मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषतासहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा (४) मा स्पष्ट भनिएको छ, अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटामात्र राज्य छ त्यो नेपाल हो ।’
महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुन नसक्ने उनले बताएका छन् । ‘नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोधमात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के.पी. ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्यचकित भएको छु,’ उनले लेखेका छन् ।






