सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि रु १ अर्ब ४ करोड ७९ लाख ५२ हजार ८ सय ८६ रुपैँया ९ पैसाको अनुमानित बजेट खर्च विनियोजन गरेको छ । लालबन्दी नगरपालिकाको छैठौँ नगर सभाबाट बजेट निति तथा कार्यक्रम अन्तर्गत पेश गरिएको बजेट खर्च आसार १० गते नगर उप प्रमुख लामाले पढेर नगर सभामा पेश गर्नुभएको थियो ।
चालु आर्थिक वर्षका लागि लालबन्दी नगरपालिकाले आन्तरिक स्रोत, प्रदेश सरकार, संघिय सरकारबाट रु ७८ करोड ९ लाख १ हजार ३ सय ४२ रुपैँया ३ पैसा प्राप्त गरेको छ भने चालु आर्थिक वर्षको अझैँ २० दिन बाँकी रहेका कारण केही रकम बृद्धि हुने नगरपालिकाले अनुमान गरेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षको चालु शिर्षकमा ४९ करोड ९७ लाख ९३ हजार विनियोजन गरेकोमा हाल सम्म ३१ करोड ६० लाख ९३ हजार र पुँजिगत तर्फ ५७ करोड ९ लाख ६९ हजार विनियोजन गरेकोमा हाल सम्म रु ५३ करोड ९९ लाख ७ हजार रकम खर्च गरि सकेको छ । साथै चालु आर्थिक वर्षमा सम्पन्न भएका आयोजनाहरुको भुक्तानी हुन बाँकी रहेका कारण नगरपालिकाको खर्चमा उल्लेख्य बृद्धि हुनेछ ।
आर्थिक वर्ष २०७८/०७९ मा कोभिड-१९ बाट प्रभावितहरुको उपचार र क्वारेन्टाईन व्यावस्थापन, नगरबासीका मौलिक हक अन्र्तगतका न्युनतम आधारभुत आवश्यकता परिपुर्ती, निजी तथा सहकारी क्षेत्रसंगको सहकार्यमा रोजगारी सिर्जना, स्रोत, साधन अवसर र क्षमताको तथा सोको उच्चतम उपयोग गरी समृद्ध नगर बनाउने, आर्थिक, भौतिक, सामाजिक र वातावरणिय पुर्वाधार विकास गरी समुन्नत र सुदृढ नगर बनाई राष्ट्रको विकासमा टेवा पुर्याउने साथै स्वास्थ्य, शिक्षा, शहरी सौन्दर्य र भू उपयोग एवम् बस्ती विकास, कुषि तथा पशुपंक्षि विकास, वातावरण संरक्षण तथा विपद् व्यावस्थापन, लक्षित वर्गको उत्थान एवम् सशक्तिकरण र सामाजिक समावेशीकरण, प्रविधिकोअधिकतम प्रयोग, संस्कृति तथा पर्यटन प्रवद्र्धन, उद्योग वाणिज्य तथा निजी क्षेत्रसंग सहकार्य र राजश्व प्रशासन तथा वित्तिय सुशासन लगायतका प्राथमिकताहरु नगरले तय गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि रु १ अर्ब ४ करोड ७९ लाख ५२ हजार ८ सय ८६ रुपैँया ९ पैसाको अनुमानित बजेट विनियोजन गर्दा केन्द्र सरकार र प्रदेश सरकारबाट सशर्त अनुदान स्वारुप रु ३३ करोड ३४ लाख अनुमान गरेको छ । त्यस्तै समानिकरण अनुदानबाट रु १८ करोड १७ लाख ३ हजार अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।
समपुरक अनुदानबाट रु १ करोड ५९ लाख,विशेष अनुदानबाट रु ५ करोड २८ लाख, राजश्व बाँडफाँडबाट रु १३ करोड ३८ लाख २२ हजार ८ सय ३१ रुपैँया ६० पैसा अनुमान गरेको छ । त्यस्तै आन्तरिक स्रोतबाट रु ६ करोड १३ लाख २७ हजार ५४ रुपैँया ४९ पैसा अनुमान गरेको छ ।
सामाजिक सुरक्षा तथा संरक्षणमा रु २२ करोड ५० लाख, लागत सहभागीताबाट रु २ करोड र सडक बोर्ड नेपालबाट रु ४० लाख आय अनुमान गरेको नगरपालिकाले रु २ करोड नगद मौज्दात रहने अनुमान गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि रु १ अर्ब ४ करोड ७९ लाख ५२ हजार ८ सय ८६ रुपैँया ९ पैसा बराबरको नै व्यय अनुमान गरेको छ ।
नगर उप प्रमुख लामाले प्रस्तुत गर्नु भएको वजेट वक्तव्य अनुसार केन्द्रीय सशर्त अनुदान मार्फत सञ्चालन हुने कार्यक्रममा रु ३२ करोड ५४ लाख र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानबाट सञ्चालन हुने कार्यक्रममा रु ८० लाख खर्च हुने अनुमान गरिएको छ ।
केन्द्र र प्रदेश समपुरक अनुदान तर्फ रु १५ करोड ९० लाख व्यय अनुमान गरिएको छ । विशेष अनुदानमा रु ५ करोड २८ लाख विनियोजन गरिएको छ । सामाजिक सुरक्षा भक्ता वितरणमा रु २२ करोड ५० लाख, सडक बोर्ड नेपालबाट सञ्चालन हुने कार्यक्रममा रु ४० लाख व्यय अनुमान गरिएको घोषणा गरिएको छ ।
नगरका विभिन्न सञ्चालन हुने कार्यक्रममा लागत सहभागीता रकम रु २ करोड र चालु आ.व.को क्रमागत र भुक्तानी बाँकी योजनाहरुमा रु २ करोड खर्च हुने गरि बजेट प्रस्तुत गरिएको छ ।
प्रशासनिक चालु खर्चमा रु १२ करोड १२ लाख ७२ हजार विनियोजन गरिएको छ भने विषयगत सहित नगरबाट सञ्चालन हुने कार्यक्रमहरुमा रु ११ करोड ६९ लाख १७ हजार ८ सय ८६ रुपैँया ९ पैसा विनियोजन गरिएको छ । लालबन्दी १ देखि १७ सम्मका सबै वडागत कार्यक्रम सञ्चालनका लागि रु १३ करोड ८६ लाख ६३ हजार बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले लालबन्दी नगरपालिकाको छैठौं नगर सभामा विमती देखाएका छन् । लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष सुरेन्द् कुमार न्यौपाने, वडा नम्बर ९ का अध्यक्ष गोपाल प्रसाद घिमिरे, वडा नम्बर १० का वडा अध्यक्ष टोप बहादुर श्रेष्ठ र वडा नम्बर १७ का वडा अध्यक्ष नवराज अधिकारीले लालबन्दी नगरपालिकाको छैठौं नगर सभामा विमती देखाएका हुन् ।
उनीहरुले जनताका माग र आवश्यकता सम्बोधन गर्नुको साटो नगर प्रमुख केन्द्रित बजेट ल्याइएको, जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नगरको कुनै पनि किसिमको हरहिसाब, महालेखाको बेरुजु र पेश्की हिसाब सार्वजनिक नगर्नुले शंका उब्जाएको, कोरोना महामारीमा भएको खर्च तथा अनुदान सहयोग आदिको पारदर्शी पुर्णता सार्वजनिक गर्न, आफैले निर्माण गरेको नियम विपरीत, कार्यकर्ता एवम आफ्ना निकटका विचार समूह र आस्थाका व्यक्ति तथा संस्थालाई कृषि, बीउ बिजन, विषादी एवम् मलखादको बिक्री अनुमती तत्कालै खारेज गरी नियम अनुसार बिक्री वितरणको व्यवस्था मिलाउन, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गरिब जनतासँग मेयर, लक्षियत वर्गसँग उपमेयर, आदि कार्यक्रमको उपलब्धी र औचित्यसहित भएको खर्च र आम्दानी सार्वजनिक गर्न कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले माग गरेका छन् ।
शिक्षा, स्वास्थ्य, नागरिकको जीवन रक्षा, जीविकोपार्जन, स्थानीय सरकारसँगको सहज पहुँच तर्फ ध्यान केन्द्रित गर्न र चुनाव केन्द्रित नभई आवश्यकता केन्द्रित बजेट निर्माण गर्न, स्वेच्छाचारी प्रवृत्तिको अन्त्य गरी जनहितकारी समन्वयात्मक एवम् सार्वजनिक महत्वको कार्यमा ध्यान दिन, नगरपालिकाको भवन निर्माण नहुनुको कारण बताएका छन् ।






