सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षसँगको वार्तामा उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी रक्सी पिएको असामान्य अवस्थामा भेटिएपछि तनावग्रस्त बनेको छ ।
मंगलबार बेलुका संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएका उपकुलपति डाक्टर गिरी मादक पदार्थ पिएको जस्तो असामान्य अवस्थामा बोल्न थालेपछि संघर्ष समितिले वार्ता छोडेको थियो ।
वार्तामा बोलाएर रक्सी पिएर उपकुलपति आएको र अन्य पदाधिकारीहरु रमिते बनेको भन्दै आन्दोलनरत चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरु आक्रोशित छन् ।
आन्दोलनकारीहरुले उपकुलपतिको मेडिकल जाँच गर्नुपर्ने र उपकुलपति सहित चारै जना पदाधिकारीहरूको राजीनामा वा बर्खास्त नभएसम्म आन्दोलन नरोकिने संयुक्त संघर्ष समितिका सहसंयोजक डाक्टर विष्णु पोखरेलले बताए ।
आन्दोलनरत चिकित्सक तथा कर्मचारीले रातभर मोबाइलको लाइट बालेर विरोध प्रदर्शन गरेका थिए ।






