धनकुटा । धनकुटामा आन्दोलनरत संयुक्त लोकतान्त्रिक गठबन्धन सम्बद्ध नेता कार्यकर्ता र प्रहरीबीच बुधबार जिल्ला प्रशासन कार्यालयमा घम्साघम्सी भएको छ ।
पाख्रीवास नगरसभामा तोडफोड गरेको भन्दै दर्ता भएको मुद्दा खारेज गनुपर्ने र गिरफ्तारी दिएका वडाध्यक्षलाई रिहाई गर्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टीका नेता कार्यकर्ता र प्रहरीबीच दिउँसो घम्साघम्सी भएको हो ।
बजारबाट नेता कार्यकर्ताहरु प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रशासन कार्यालय अगाडि प्रहरीले रोकेपछि दुई पक्षबीच ठेलाम्ठेल भएको हो । प्रहरी र प्रदर्शनकारीबीच झण्डै एक घण्टासम्म घम्साघम्सी भएको थियो ।
जिल्ला स्तरीय नेताहरु पनि प्रहरीसँग घम्साघम्सीमा उत्रिएका थिए । अन्ततः उनीहरुले प्रशासन कार्यालयको गेट अगाडि कोणसभा गरेका छन् । सभालाई संवोधन गर्दै नेताहरुले आफ्ना माग संवोधन नभए आन्दोलन थप चर्काउँने चेतावनी दिएका छन् ।
सो क्रममा उनीहरुले पाख्रीवास नगरपालिकाका जनप्रतिनिधि, स्थानीय प्रशासन र सरकारविरुद्ध पनि नाराबाजी गरेका थिए । तोडफोडबाट आधा दर्जन झ्यालका सिसा फुटेका छन् भने दर्जनौं कुर्सी तोडफोड भएका छन् ।






