काठमाडौं । एमालेमा नेता माधव नेपालले पार्टीको विवाद हल गर्न आफ्नो पनि हस्तक्षर चल्ने गरी अध्यक्ष बन्न पाउनुनर्पे माग गरेका छन् । पार्टीमा दुई अध्यक्ष रहनुपर्ने र दुवै नेताको हस्ताक्षर चल्ने गरी बराबरी हैसियत हुनुपर्ने माग नेपाल पक्षले राखेको हो ।
पार्टी विभाजनको डिलमा पुगेपछि कार्यदलले पछिल्लो समय सक्रिय भई समाधानका उपाय अनपाइरहेको बेला नेपाल पक्षले महाधिवेशनबाट निर्वाचित अध्यक्षकै बराबरी हैसियत र अधिकार खोजेका हुन् ।
यस अघिदेखि नै नेता नेपालले पार्टीमा एक व्यक्ति एक पदको विषय उठाउँदै आएका थिए । पार्टी एकता टुट्न सक्ने अवस्था आएकोले दबाब बढाउन उनले यस पटक सह अध्यक्ष हुनुपर्ने भन्दै अधिकार पनि खोजेका हुन् ।
विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको नेपाल पक्षलाई अल्टिमेटम नै दिएर ओलीले फिर्ता हुन आग्रह गरे पनि अझै हस्ताक्षर फिर्ता भएको छैन । बरु पार्टी मिलाउन अधिकार बाँडफाँट गरेर जानुपर्ने प्रस्ताव नेपाल पक्षले गरेको नेताहरुले संचार माध्यमलाई जानकारी गराएका छन् ।
संसद् विघटनको मुद्दामा अदालतको फैसला नआउँदै हस्ताक्षर फिर्ताको लागि ओलीले दबाब बढाएका छन् । तर नेपालले यस अघिको नेकपामा जस्तै दुई अध्यक्ष रहने र अधिकार प्रष्ट गरेर हस्ताक्षर चल्ने गरी पावर सेयरिङको प्रस्ताव गरेका हुन् ।
अरु विषयमा कुरा मिले पनि आफ्नो अधिकार खुम्चाएर नेपाललाई ओलीले अध्यक्ष मान्न तयार नहुने उनी निकटका नेताहरुले बताइरहेका छन् । तर, सह(अध्यक्ष माने पनि आफू बराबर हस्ताक्षर गर्न दिने गरी ओली तयार नहुने एमाले स्रोतको भनाई छ ।
तत्काललाई मिलाउने मात्र भन्दा पनि आगामि निर्वाचनमा दुवै अध्यक्षले हस्ताक्षर गरेर टिकट बाँडनुपर्ने गरी अघि बढ्नका लागि नेपालले ओली समक्ष दबाब बढाएका हुन् । अहिले मिलेको जस्तो गरे पनि फेरि ओलीको पेलानमा परिने चिन्ता नेपाल पक्षलाई छ ।
विवाद मिलाउन कार्यदल बैठक बस्दै आए पनि बुधबार साँझ ओली र नेपालबीच काठमाडौंको होटल मेरियटमा भेट भएको थियो । त्यही बैठकमा ओलीले अधिकार बाँडफाँटको विषय उठाएका हुन् । तत्काल मिलेजस्तो भन्दा पनि एमालेलाई बलियो बनाउने गरी दीर्घकालीन रुपमा पावर सेयरिङ गरेर जानुर्नेमा नेपाल अडिग देखिएका हुन् ।
पार्टीमा विवाद भइरहेका बेला अध्यक्ष ओलीलाई गलाउन सकिने गरी नेपाल पक्षले पछिल्लो समय ओलीका एकपछि अर्को प्रस्तावलाई अस्वीकार गर्दै आएको छ । यस अघि नेपालहरुकै आग्रहमा ओलीले २०७५ जेठ ३ गतेको अवस्थामा पार्टीलाई फर्काउने घोषणा गरेका थिए ।
पछि महाधिवेशन आयोजक समिति खारेज गरी पुरानै केन्द्रीय कमिटी ओलीले ब्युताएका थिए । तर, पनि नेपाल पक्षले स्पष्ट रुपमा कार्य विभाजनसहितको एकता गर्नुपर्ने भन्दै ओलीमाथि दबाब बढाएको छ । कार्यदलको बैठक बिहीबार साँझ पनि बस्दैछ ।






