काठमडाौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको कार्यदलले गरेको १० बुँदे सहमतिलाई गलत व्याख्या गरिएको बताएका छन् । एमाले कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको थियो । त्यसपछि प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सांसदहरूको हिसावकिताव गरेका थिए ।
उनले लेखेका छन्, ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधिसभाका सदस्यहरू १४६-२३ : १२३ मात्र सर्वाेच्चद्वारा न परमादेश न पुनःस्थापना ।’ थापाको यो टिप्पणीमा नेपालले सहमति जनाएका हुन् ।
नेपालले फेसबुकमा लेखेका छन्, ‘हिजो राति एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ ।’
उनले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने पनि बताएका छन् । ‘सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका एमालेका २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु,’ उनले भनेका छन् ।
प्रतिनिधिसभा विघटन मुद्दामा एमाले नेपाल समूहका २३ सांंसदले कांग्रेस सभापति देउवाकाे पक्षमा हस्ताक्षर छ ।






