काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले नयाँ पुस्तालाई अधैर्य नबन्न आग्रह गर्नुभएको छ । पनौती नगरपालिकालाई आज बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा विशेष समारोहमा सम्बोधन गर्दै उहाँले अधैर्यताले सम्पूर्ण क्षेत्र तहसनहस हुने बताउनुभएको हो ।
सांसदसमेत रहनुभएका बाँस्कोटाले अधैर्यताले व्यक्तिगत जीवनसँगै राजनीतिमा समेत नकारात्मक असर पर्ने भएकाले बालबालिकालाई राजनीतिक चेतना राख्न आग्रह गर्दै धैर्यताले मात्रै जीवन सफल बन्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्री बाँस्कोटाले भन्नुभयो, “बालबालिकाले धैर्यतापूर्वक राजनीतिक चेतना राख्दै देशभक्त बन्नु तर पार्टीभक्त कहिल्यै नबन्नु ।” अधैर्यताले स्वयं व्यक्तिगत र राजनीतिक दलको उद्देश्यमा ठूलो आघात पुग्ने भएकाले यसको असर हालै भोग्नुपरेको उहाँको धारणा थियो ।
उहाँले लामो जीवन किशोरकिशोरीको रहेकाले अबको विकास र सुरक्षा उनीहरुलाई चाहिएको बताउनुभयो । उहाँले अघिल्लो सरकारले सुख–समृद्धिको राष्ट्रिय मान्यता स्थापित गरेको जिकिर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको जनादेशले नभई परमादेशले बहिर्गमन भएको बताउनुभयो ।
“नेपाली कांग्रेसलाई शुभकामना छ, अबको थप प्रक्रियामा बहुमत पुगोस्, तत्कालीन खिलराज रेग्मीको झैँ अवस्था नआओस्, काम शुरु भएका राष्ट्रिय गौरवका आयोजना सञ्चालन हुन, योजनाका बजेट नकाटियोस्”, उहाँले भन्नुभयो ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब पार्टीमा कुनै पनि ठाउँ नरहेको उहाँले बताउनुभयो । पार्टीभित्रकै चुनौतीले संविधान सङ्कटमा पर्न सक्ने र पार्टी कमजोर भए लोकतन्त्र कमजोर हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा संविधानसभा सदस्य रामहरि सुवेदी, वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, नेकपा (एमाले) पनौती नगरपालिका संयोजक सुरेशप्रसाद हुमागाईँ, नेपाली कांग्रेसका पनौती नगर सभापति रामशरण भण्डारी, जिल्ला बाल सङ्गठनका अध्यक्ष विदुरप्रसाद हुमागाईँ लगायतले नगरमा बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्न शुभकामना व्यक्त गर्नुभयो ।
नगरप्रमुख भीमप्रसाद न्यौपानेले नगरका १२ वडामा ४९ सूचक पूरा गरिएको र नगरमा १६ हजार ५१० बालबालिका रहेको जानकारी दिनुभयो । पनौती नगर बालमैत्री स्थानीय शासन घोषणा गर्ने नेपालमा आठौँ, प्रदेशमा चौँथो र जिल्लामा दोस्रो भएको छ । रासस






