काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) संसदमा विश्वासको मत लिने भएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि आज पहिलो बैठक अपरान्ह ४ बजे बस्दै छ ।
दुई चरणमा बस्ने तयारी गरिएको बैठकको दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी गरेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र दर्ता समेत गरिसकिएकाे छ ।
संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठकमा सरकारका तर्फबाट संसद सचिवालयमा पेश भएको उक्त पत्र कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पेश गर्दैछन् ।
सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
यता ओली पक्षीय एमालेले देउवालाई विश्वासकाे मत नदिने निर्णय गरिसकेकाे छ । एमाले प्रतिपक्षमा बस्ने ओली समूहले निर्णय गरेकाे हाे । माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले भने देउवालाई विश्वासकाे मत दिने/नदिने टुंगाे लगाइसकेकाे छैन । नेपाल समूह अहिले आन्तरिक छलफलमा जुटिसकेकाे छ । छलफलबाट आजै निर्णय लिनेछन् ।
दुई हिस्सामा विभाजन भएकाे एमाले फुटकाे बाटाेतर्फ अघि बढेकाे छ । एमाले एकताबद्ध हुने हो भने देउवा प्रधानमन्त्रीमा रहिरहन पाउने छैनन् । एमालेका १२१ र जसपाका २१ जना सांसद एक ठाउँमा उभिँदा देउवाले विश्वासको मत लिन सक्दैनन् । उनले विश्वासकाे मत नपाएपछि वैकल्पिक सरकार बन्छ । सत्ताबाट बाहिरिए पनि सत्ताकाे बल र देउवाकाे भविष्य अझै पनि एमालेकाे हातमा छ ।
प्रधानमन्त्रीले विश्वासको मत पाउन जनता समाजवादी पार्टी (जसपा) र एमालेको माधव समूहको साथ आवश्यक छ । यसअघि माधव नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आश्वासन दिएका थिए, त्यसैले उनकाे पक्षले विश्वासकाे मत दिने निश्चित छ !
यस्तै कांग्रेस संसदीय दल र माओवादी केन्द्रको संसदीय दलको बैठक पनि आजै बस्दै छ । कांग्रेसकाे दिउँसो दुई बजे र माओवादी केन्द्रकाे बिहान ११ बजे सिंहदरबारमा बैठक बस्दैछ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न दुवै दलले छुट्टाछुट्टै बैठक बोलाएका हुन् ।






