काठमाडौं । जब-जब पद प्राप्तिको कुरा आउँछ, नेताहरु चिना हेराउन थाल्छन् । अरुबेला ज्योतिषका विश्वासै नगर्ने नेताहरु समेत यो बेला अन्धविश्वासै सही, नतिजा स्वीकारिहाल्छन् । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफू ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका ज्योतिषको निकै खोजी गरेका थिए, केही दिनअघि । भेट पनि गरे ।
प्रम देउवाले संसदमा विश्वासको मत लिने तयारी गरिरहँदा अहिले उनै ज्योतिषीले नयाँ खुलासा गरेका छन् । ज्योतिषी सुरेश चन्द्र रिजालले आज अर्को भविष्यवाणी गरेका हुन् । रिजालका अनुसार आजको दिन विशेष कार्य सिद्धिको योग परेको छ ।
असार २७ गतेबाट सुरु भएको गुप्त नवरात्र अन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आइतबार र तुला राशिमा चन्द्रमा भएको शुभ दिन भएको बताउँदै उनले शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नका लागि आजको दिन विशेष कार्य सिद्धिको योग परेको उल्लेख गरेका हुन् । सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने तयारीमा गृहकार्य थाल्नु शुभ भएको समे उनले बताएका छन् । नेपालीले विश्वास गरेअनुसार नै अबको सरकारले काम गर्ने उनकाे भनाइ छ ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) संसदमा विश्वासको मत लिने भएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि आज पहिलो बैठक अपरान्ह ४ बजे बस्दै छ ।
दुई चरणमा बस्ने तयारी गरिएको बैठकको दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी गरेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभामा विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र दर्ता समेत गरिसकिएकाे छ ।
सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।






