काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।
विश्वासकाे मत प्राप्त नगर्दासम्म माेदीले शुभकामना दिएका थिएनन् । आइतबार संसदमा विश्वासको मत प्राप्त गरेपछि भने मोदीले समकक्षी देउवालाई बधाई तथा शुभकामना दिएका हुन् । माेदीले बधाई दिँदै लेखेका छन् – ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र सफल कार्यकालको शुभकामना । दुई देशबीच सबै क्षेत्रहरूमा रहँदै आएको विशिष्ट साझेदारीलाई थप विस्तार गर्न र जनस्तरको गहिरो सम्बन्धलाई थप सुदृढ बनाउन म तपाईंसँग सहकार्यको अपेक्षा गर्दछु ।’
मोदीले फोन गरेर पनि देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । साेही व्यवस्था अनुरूप देउवाले आइतबार विश्वासकाे मत लिए । संसदमा २४९ सांसद उपस्थित थिए । १६५ सांसदले पक्षमा मत हाले भने ८३ सांसदले विपक्षमा मत हाले । प्रस्तावकाे मत दिन्न भन्ने पक्षमा एक मात्रै मत परेकाे थियाे ।
विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल अर्थात् करिब डेढ वर्ष सरकार चलाउने छन् ।






