काठमाडौं । नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले शनिबार राति एक प्रेस विज्ञप्ती जारी गर्दै इण्डियन आयल कर्पोरेशनबाट शनिबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य समायोजन गरेको जनाएको छ ।
जसअनुसार प्रति लिटर डिजेलमा रु ०.१८ ले घटेर तथा प्रति लिटर पेट्रोलमा ०.५८, मट्टितेलमा रु. १.७४, हवाई इन्धनमा रु.१.३५ र एलपि ग्यासमा प्रति सिलिण्डर रु. १४.४९ ले बढेर आएको जनाइएको छ ।
यसैबीच, निगम सञ्चालक समितिको शनिवारको निर्णय बमोजिम मंसिर १६ गते बिहान ००:०१ बजेदेखि लागू हुनेगरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर एक रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर दुई रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौंका लागि प्रति किलो लिटर अमेरिकी डलर १५ का दरले बढाईएको छ ।
त्यस्तै पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइनटमा मा बिक्री मूल्य कायम गरिएको छ । साथै, आम उपभोक्ताको हितलाई मध्यनजर गरी एलपि ग्यासको मूल्य बढेर आएता पनि हाललाई यथावत् राखिएको छ ।
निगमले डिपो/कार्यालयदेखि १५ किलोमिटर सम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको जनाएको छ, जस अनुसार काठमाडौंमा अब पेट्रोल पति लिटर १६० रुपैया छ ।




