काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले आफ्नो हातमा सत्ता आए देशलाई उलट्पुलट बनाउने दाबी गरेका छन् । बुधबार काठमाडौंमा रेडफ्रन्ट नामक म्यागजीनको बिमोचन गर्दै चन्दले हरेक विद्रोह अग्रगामी हुने बताएका हुन् । उनले अहिले पूँजीवाद प्रति पूँजीपतिहरू नै सन्तुष्ट नभएको पनि दाबी गरेका छन् ।
‘हरेक विद्रोह अग्रगामी हुन् । पूँजीवाद प्रती पूँजीपतिहरू नै सन्तुष्ट छैनन् । पूँजीवादले काम चल्दैन,’ उनले भने, ‘पूँजीवादका सबै पक्ष अस्वीकार गर्नुपर्छ भन्ने होइन । केही देशमा केही मान्छेसँग यति धेरै धन थुप्रिएको छ । त्यो आवश्यक हो कि होइन । नेपालका कयौँ पार्टीहरू लगायत दलाल पूजीँवाद नै नेपाली जनताको दुर्दशा हो ।’
चन्दले नेपालमा सरकार बनाउँदा, पार्टी एक हुँदा, पार्टी फुट्दा पनि विदेशी चाहिने भन्दै दलालीकरणको भद्दा रुपमा भएको टिप्पणी गरे । ‘पार्टी एकता गर्दा गर्दा, फुटाउँदा, सरकार बनाउँदा वा ढलाउँदा पनि विदेशी चाहिने । यो राजनीतिक दलालीकरणको भद्दा रूप हो,’ उनले भने, ‘जमिन सबै दलालहरूको हातमा छ । नेपालको धर्ती यहीँ छ तर जीवनभर काम गरेर किन्न सकिँदैन ।’
चन्दले भने, ‘नेपाली युवा विदेशीनबाट रोकिनु पर्छ । हाम्रो हातमा देश आयो भने हामी देशलाई उलट्पुलट पार्छौं । हामी झुक्दैनौ ।’ उनले हरेक सत्ताले एउटा लुटेराको समूह बनाउने र त्यसले कहिल्यै नजित्ने पनि दाबी गरे । ‘हरेक सत्ताले एउटा लुटेरा समूह बनाउँछ । लुटेरालाई कसले भोट हाल्छ ?’






