एजेन्सी । तपाईंले पनि देख्नुभएको होला, कहिले काहीं सडकमा हिँड्दा अचानक कुकुरले आक्रमण गर्दा मानिस यति तर्सिन्छ कि उसलाई के भइरहेको छ भन्ने कुरा बुझ्नै गाह्रो हुन्छ । आखिर कुकुरलाई किन अचानक रिस उठ्छ र उनीहरू यसरी आक्रामक बन्छन् ?
मानिसका लागि अत्यन्तै प्रिय घरेलु जनावरको रूपमा चिनिएका कुकुरको यस प्रकारको व्यवहारको पछाडि विभिन्न कारण हुन सक्छन् । कुकुरहरू प्राय: तब मात्र मानिस वा अन्य जनावरमाथि आक्रमण गर्छन् जब उनीहरू रिसाएका वा असुरक्षित महसुस गर्छन् । कतिपयलाई लाग्छ, कुकुर केही विशेष रंग देखेपछि रिसाउँछन् । के यो सत्य हो ?
बचपनदेखि नै हामीले सुन्दै आएका छौँ कि कुकुरको अगाडि रातो वा कालो रंग लगाएर गयो भने उनीहरू रिसाउँछन् । तर यसको पछाडिको वास्तविकता के हो भन्ने प्रष्ट नभएको अवस्थामा अनुसन्धानहरूले केही चकित पार्ने तथ्यहरू प्रस्तुत गरेका छन् ।
कुकुरले रंग कसरी देख्छन् ?
कुकुरले रंग देख्न सक्ने क्षमता बारे थुप्रै अनुसन्धान भएका छन् । लाइभ साइन्सको रिपोर्टका अनुसार कुकुरहरू धेरै रंग देख्न सक्दैनन् । उनीहरूको आँखा कलर ब्लाइन्ड व्यक्तिको आँखाको जस्तै काम गर्छ । सीधै भन्नुपर्दा, कुकुरलाई ग्रे रंगका विभिन्न शेडहरू बढी देखिन्छ ।
त्यसोभए रातो रंगले कुकुरलाई रिस उठाउँछ भन्ने दाबी कस्तो हो ? तपाईंलाई थाहा पाउँदा अचम्म लाग्न सक्छ कि कुकुर रातो र हरियो रंग देख्नै सक्दैनन् । उनीहरूको मस्तिष्कका न्यूरोनले यी रंगहरू देख्दा कुनै पनि सिग्नल पठाउँदैनन् ।
कुकुरको अद्वितीय दृष्टि
कुकुरले मानिसहरूले देख्न नसक्ने केही चीजहरू देख्न सक्छन् । उनीहरूको आँखा यसरी डिजाइन गरिएको हुन्छ कि उनीहरूले अँध्यारोमा पनि राम्रोसँग देख्न सक्छन् । साथै, उनीहरूले अल्ट्राभायलेट प्रकाशको रंग पनि देख्न सक्छन्, जुन मानिसका लागि अदृश्य हुन्छ । त्यसैले, कुकुर विशेष रंग देखेर आक्रामक हुनेभन्दा पनि आफ्नो वरपरको वातावरणमा कुनै खतरा महसुस गरेपछि मात्र आक्रामक हुने तथ्य स्पष्ट हुन्छ ।




