रौतहट । प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको भारतीय नम्बरको स्कार्पियो गाडी जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले विआर ०१ पी एल ९३८३ नम्बरको सेतो रंगको स्कार्पियो गाडी करिब ३० लाख रुपैयाँ मूल्याङ्कन गरी शुक्रबार भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
भन्सार छली गरिएको गाडी चलाईरहेको सूचना प्राप्त भएपछि प्रहरी गस्ती टोलीले खोजी गर्दै जाँदा गत साउन ४ गते दुर्गा भगवती गाउँपालिका ३ स्थित सडक छेउमा गाडी बेवारिसे अवस्थामा फेला पारेको थियो ।
पटक पटक सूचना जारी गर्दा पनि ५ महिनासम्म उक्त गाडीको हकदाबी गर्न कोही व्यक्ति नआएपछि बाध्य भएर गाडी भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले जानकारी दिएका छन् ।
भारतसँग २८ किलोमिटर लामो सीमा जोडिएको रौतहट जिल्लामा भारतीय गाडीको आवागमन सामान्य मानिए पनि भन्सार छलीका घटना बेला बेला हुने गरेका छन् । प्रहरीका अनुसार, रौतहटमा दुई देशबीचको ऐतिहासिक रोटी बेटीको सम्बन्धका कारण सीमावर्ती क्षेत्रमा भारतीय नम्बरका गाडी प्राय: देखिने गरेका छन् ।






