काठमाडौं । नेपालका काष्ठ, फर्निचर तथा होम टेक्सटायल उद्योगको प्रवर्द्धन र आधुनिकीकरणका लागि १० औं नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी माघ ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि., फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा.लि. र इ.टि.एस.आइ.पि.एल. को संयुक्त आयोजनामा हुन लागेको यो प्रदर्शनीले फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ मेसिनरी, म्याट्रेस र अन्य कच्चा पदार्थसँग सम्बन्धित १०० भन्दा बढी स्टल समेट्नेछ ।
नयाँ प्रविधि र नवीन उत्पादनको प्रदर्शन
यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त ब्रान्डहरूको सहभागिताले काठ तथा फर्निचर उद्योगका नयाँ नयाँ प्रविधि र उत्पादनहरू प्रस्तुत गरिनेछ । विशेषत: फर्निचर निर्माता, आरा मिलर, किचन मेकर, बोर्ड निर्माता, इन्टेरियर डिजाइनर, भवन निर्माणकर्ता र व्यापारीहरूको उल्लेखनीय उपस्थिति रहनेछ ।
आयोजकहरूका अनुसार, यो प्रदर्शनीले साना तथा ठूला उद्योगहरूलाई आधुनिक मेसिनरी र टेक्नोलोजीको प्रयोगमा प्रेरित गर्दै उत्पादन प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउनेछ ।
जानकारीमूलक कार्यक्रमहरू
प्रदर्शनी अवधिभर जानकारीमूलक सेमिनार, अन्तरक्रियात्मक कार्यशालाहरू र प्रत्यक्ष प्रस्तुतीकरणहरू आयोजना गरिनेछ । यसले अवलोकनकर्ताहरूलाई अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन उत्पादनहरूको अनुभव प्रदान गर्नेछ ।
विकासमा सहयोग
नेपाल उड प्रदर्शनीले काष्ठ, फर्निचर र होम टेक्सटायल क्षेत्रलाई नयाँ सम्भावना र अवसरहरू दिनुका साथै विश्व बजारमा सफल भएको प्रविधि नेपाली उद्योगमा भित्र्याउने माध्यम बनाउनेछ । यसले नेपालका आर्किटेक्ट, इन्जिनियर, इन्टेरियर डिजाइनर र भवन निर्माण सम्बन्धी व्यवसायीहरूको ज्ञान र क्षमतालाई पनि उन्नत बनाउने अपेक्षा गरिएको छ ।
सहभागी संस्थाहरू
प्रदर्शनीमा इन्टेरियर डिजाइनर एसोसिएशन नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ र नेपाल प्लाइवुड उत्पादक संघको सहकार्य रहनेछ ।
प्रदर्शनीको महत्त्व
यस प्रदर्शनीले नेपाली फर्निचर र काष्ठ उद्योगमा नयाँ प्रविधि भित्र्याउँदै उत्पादनको स्तरोन्नति गर्न मद्दत गर्नेछ । साथै, यसले नेपालमा निर्माणाधीन घर, फर्निचर र होम डेकोर क्षेत्रमा नयाँ विचार र नवीन प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नेछ ।
नेपाल उड, फर्निचर र होम टेक्सटायल प्रदर्शनीले विगत ९ वर्षदेखि काष्ठ क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ । यस संस्करणले यो अभियानलाई अझ सशक्त बनाउँदै काष्ठ र फर्निचर क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने अपेक्षा गरिएको छ ।




