वीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले चालू आवमा उपभोक्ता समितिमार्फत हुँदै आएको काम टेन्डरबाट मात्र गर्ने निर्णय गरेको कारण विकास निर्माणका कार्यहरू प्रभावित भएको बताएका छन् ।
उपभोक्ता समितिमार्फत हुँदै आएका निर्माण कार्यहरूमा व्यापक अनियमितता देखिनुका साथै काम आधा अधूरो भएकाले चालू आवदेखि मुख्यमन्त्री सिंहको निर्देशनमा टेन्डरबाट मात्र सबै काम गर्न निर्देशन भएका कारण अहिलेसम्म विकास निर्माणका कार्यले गति लिन नसकेको हो ।
प्रदेश सरकारले छठपछि मात्र आन्तरिक अख्तियारी दिंदै साना योजनाहरू उपभोक्ता समितिमार्फत गराउन निर्देशन दिएको थियो । सो अनुरूपका कामहरू अहिलेसम्म सुरू हुन सकेको छैन । एक जना कर्मचारीले यो अख्तियारी साउन, भदौमैं दिएको भए सहज हुने र अहिले समस्या भएको बताए ।
प्रदेश सरकार अन्तर्गतका भूमि, जलस्रोत विकास डिभिजन, भौतिक पूर्वाधार कार्यालय, सघन शहरी कार्यालय लगायतका कार्यालयहरूमा करोडौंको बजेट अहिले थन्किएको छ । टेन्डर प्रक्रियाबाट कामको माग हुँदा समयावधि लम्बिएको कर्मचारीहरूको भनाइ छ ।
एक जना कर्मचारीले विगत ६ महीनादेखि यी कार्यालयहरूले काम गर्न नसकेको बताए । उनले यस सम्बन्धमा मुख्यमन्त्रीबाट पुनर्विचार गरिनुपर्ने र आगामी वर्षदेखि समयमा बजेट पठाएर टेन्डरबाटै काम गराउनु पर्ने वातावरण बनेको खण्डमा सहज हुने बताए ।




