काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता खारेजीको एजेण्डामा जनमत बढ्दै गएको भन्दै खुशी व्यक्त गरेका छन् । सोमबार विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने अवधारणा अघि सारेपछि थापाले त्यसलाई ‘सकारात्मक’ भनेका छन् ।
विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता भएको उनको भनाई छ । ‘हामी सही बाटोमा छौँ, प्रमाणित हुँदैछ’ थापाले भनेका छन् ।
राप्रपाले संघीयताको खारेजी, धर्म निरपेक्षता बारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाको माग गर्दै आएको छ । यता, राष्ट्रिय जनमोर्चाले पनि संघीयता नेपालका लागि अभिषाप हुने भन्दै खारेज गर्नुपर्ने बताउँदै आएको छ । गणतन्त्र र धर्म निरपेक्षताको रक्षामा भने जनमोर्चाले जोड दिएको छ ।
विवेकशील साझा पार्टीका संयोजक मिश्रले पार्टीमा छलफलका लागि दस्तावेज पेस गर्दै संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका हुन् । मिश्रले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको ठहरसहित खारेजीमा जानुपर्ने मत राखेका हुन् ।






